इटहरीः सुनसरी क्षेत्र नं. ३ बाट एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएकी  भगवती चौधरीले अपराधलाई प्रशय हुने अभिव्यक्ति दिएकी छिन् । बिहीबार इटहरी १४ मा आयोजित चुनावी भेटघाटलाई सम्बोधन गर्ने क्रममा नेकपा एमाले तर्फबाट उम्मेदवार चौधरीले गोली चलाउने देखि छुरा रोप्ने सम्मको अभिव्यक्ति दिएकी हुन् ।

चौधरीले अघिल्लो निर्वाचनमा धाँधली भएको दाबी गदै फेरी पनि निर्वाचनमा धाँधली भए पहिलो फाइरिङ आफूले खोल्ने र छुरा घोप्ने जस्ता शब्द प्रयोग गदै भाषण गरेकी हुन् ।

उनले भाषण गर्दा भनेकी छिन् ‘युवा सङ्घ, यूथ फोर्स, महिला तथा किसानका साथै पार्टीका कार्यकर्ता जसले हामीलाई बुरी नजरले अथवा अस्वस्थ्य प्रतिस्पर्धाले हेरेका छन् उनीहरूलाई म खबरदारी गर्छु ।’ ‘यदि भएन भने ....मर्ता त्यो क्या नही कर्ता, अन्तिम अवस्थामा म उम्मेदवार भए पनि त्यहाँ धाँधली भएमा पहिलो फाइरिङ मैले नै गर्छु ।’ 

उनले फेरी थपेकी छिन् ‘भोलिका दिनमा गोली हान्नु परे, छुरा हान्नु परे भगवती चौधरी तयार छु ।’

चौधरीको यस्तो अभिव्यति निर्वाचन आचारसंहिता बिरुद्ध र अपराधीक सोचलाई प्रशय दिइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रदेश पोर्टललाई बताए । यादवले यस विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेर आवश्यक निर्णय लिने जानकारी दिए  ।