इटहरीः बैंकहरुले कर्जामा लिँदै आएको व्याजदर बढाएपछि व्यापारमा समस्या भएको भन्दै उद्योगी व्यापारीहरु त्यसको विरुद्ध आन्दोलन गर्ने निश्कर्षमा  पुगेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ समितिले बिहिबार विराटनगरमा आयोजना गरेको ब्याजदर वृद्धिसम्बन्धी अन्तक्र्रिरयापछि सांकेतिक आन्दोलनको घोषणा समेत गरेका छन् । 

महासंघका अनुसार प्रदेशभरिका जिल्ला नगर उद्योग वाणिज्य संघको सुझाब अनुसार पहिलो चरणको दबाबमुलक आन्दोलन घोषणा गरिएको हो । ब्याजदर घटाउन माग गर्दै पहिलो चरणमा विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा ज्ञापनपत्र बुझाउने, प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र पठाउने र जिल्लास्थित बैंकहरुमा धर्ना दिने कार्यक्रम तय गरिएको छ । व्यापारीहरुले बैंकहरुको साझा संस्था बैँकर संघमा समेत ज्ञापन पत्र पठाउने भएका छन् । 

उद्योगी व्यापारीहरुले बैंकर्स संघ र राष्ट्रबैंकको मिलेमतोमा मुलुकको अर्थतन्त्र ध्वस्त पार्ने प्रयास भइरहेको भन्दै उद्योग वाणिज्य संघमा आवद्ध व्यापारहिरुले बैंकहरुको नाफामा मात्र राष्ट्रबैंक केन्द्रित हुँदा उद्योगधन्दा बन्द हुने अवस्था भएकोमा चिन्ता व्यक्त गरेका छन् । 

बैंक तथा वित्तीय संस्थाहरुले एक अंकको ब्याजदर कायम सहमति विपरित हाल आएर १८ प्रतिशतसम्म ब्याज कायम गर्न खोजेकोमा उद्योगी व्यवसायीहरुले बैंकहरुसँग असन्तुष्टि पोखेका हुन् । आर्थिक साझेदारका रुपमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको व्यवहारले उद्योगी व्यवसायीहरुसँग द्वन्द्व बढ्ने अवस्था रहेको उनीहरुको भनाइ छ । 

आयातमुखी अर्थतन्त्र भएको मुलुकमा उद्योगी व्यवसायीहरुलाई नै लक्षित गरेर राष्ट्रबैंकले भेदभावपूर्ण नीति अघि सारेका कारण अहिले ३० प्रतिशत उद्योगहरुले मात्रै क्षमता अनुसार उत्पादन गरिरहेका छन् । त्यसमाथि ब्याजदर बढेको बढ्यै गर्दा उद्योगको चाबी सरकारलाई बुझाउनुपर्ने अवस्थाको निर्माण भइरहेको उनीहरुले बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले उद्योग व्यवसाय गर्नेहरु टिक्नै नसक्ने गरी ब्याजदर बढेको भन्दै देशव्यापी रुपमा उद्योगी व्यवसायीहरु एक भएर आवाज उठाउनुपर्ने बताएका छन् । 

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य डा.अविनाश बोहराले निजी क्षेत्रका लागि यो समय टर्निङ प्वाइन्ट भएको बताए ।  अन्तक्र्रिरयामा उदयपुर जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष मुना कटुवालले साना तथा मझौला व्यवसायीलाई वाणिज्य बैंकहरुले ज्यादती गरिरहेको गुनासो गरिन् । २ वर्षअघि ६ प्रतिशतमा लिएको ऋणको ब्याजलाई बैंकले क्रमशः वृद्धि गर्दै असोज मसान्तमा १६ प्रतिशत पु¥याएको उनको भनाइ छ । महासंघले देशव्यापी आन्दोलनका कार्यक्रमको घोषणा गर्नुपर्नेमा उनले जोड दिइन् ।

महासंघको प्रदेश १ समितिका उपाध्यक्ष भीम पौडेल, मोरङको सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण रिजाल, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ ,दमक उद्योग वाणिज्य संघका मोहन ढकाल लगायतले राष्ट्र बैँकले बंैकहरुलाई कडाई गरिनु पर्ने बताएका थिए ।  सुनसरीको इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र शाहले ऋणको ज्यादतीबाट ग्रस्त हुने सबै क्षेत्रका नागरिकले जिल्लामा तुरुन्त प्रदर्शन सुरु गर्नुपर्ने बताए ।