इनरुवाः  सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियतबीच द्धिपक्षीय भिडन्त हुने अनुमानका बीच ‘ग्राउण्ड रियालिटी’ मा भने त्रिपक्षीय वा बहुपक्षीय प्रतिष्पर्घा हुने स्थिति बन्दै गएको छ ।

कार्की र कुसियैतसँगै त्यहाँ लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका तर्फबाट प्राध्यापकसमेत रहेका सम्मानित बुद्धिजीवि ब्यक्तित्व कुञ्जिलाल यादवसमेत प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका कारण भित्रभित्रै मत धु्रबिकरण हुने स्थितिमा पुग्दा द्धिपक्षीय भिडन्त त्रिपक्षीय वा बहुपक्षीय भिडन्तमा परिणत हुँदा स्थिति प्रतिष्पर्घात्मक बन्न पुगेको हो ।

को हुन कुञ्जिलाला यादव ?

नेपाली कांग्रेसका पुराना नेता यादव अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिस भएपनि कार्कीको केन्द्रीय पहुँचका कारण टिकट पाउन सकेनन । कांग्रेसमा लामो समयसम्म योगदान दिएपनि मुल्यांकन हुन नसकेपछि निराश बनेका भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ निवासी प्राध्यापक बुद्धिजीवि यादवले त्यहाँ आफ्नो मुल्यांकन हुन नसक्ने निष्कर्स निकालेर यसपटकको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका हुन ।

बहुसंख्यक मतदाता रहेका यादव समुदायका सम्मानित ब्यक्तित्व कुञ्जिलालप्रति यादव समुदायको समर्थन मात्रै देखिदैन कांग्रेसभित्रका असन्तुष्ट मतदाताहरुको पनि साथसँगै लोसपाको बलियो संगठनको समर्थन देखिदा उनी बलियो देखिन्छन ।

लोसपाको संगठनको स्थिति

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको सो क्षेत्रमा राम्रो संगठन रहेको छ । मधेस आन्दोलनको लिगेसी बोकेको सो पार्टीले अघिल्लो स्थानीय तहको निर्वाचनमा चर्चित उम्मेदवार नहुँदासमेत पाँच हजारभन्दा बढी मत ल्याएको छ । अझै पछिल्लो स्थानीय तहको निर्वाचनमा लोसपाले इनरुवाकै वडामा पनि जित हासिल गरेकोले उनीहरुको संगठन अझै मजबुद बनेको छ ।

लोसपाको उम्मेदवार छनौटको प्रभाव

सो पार्टीले प्रतिनिधिसभा सदस्य पदका लागि बाहुल्य जनसंख्या रहेको यादव समुदायबाट कुञ्जिलालाई उम्मेदवार बनाएको छ भने प्रदेश क मा अर्को ठूलो जनसंख्या रहेको उराँव समुदायबाट नुनुलाला उराँव र प्रदेश खबाट अर्को ठूलो जनसंख्या रहेको मेहता समुदायबाट युवा सन्तोष मेहतालाई निर्वाचनमा उम्मेदवार बनाएको छ । तीनवटै ठूलो समुदायलाई समेट्दै प्रत्यक्षतर्फको उम्मेदवारी दिएकोले जातीय रुपमा पनि उनीहरुको पक्षमा समर्थन बढ्ने देखिन्छ ।

अर्कोतर्फ सो पार्टीले समानुपातिकतर्फसमेत जातीय समिकरण मिलाएर सूचिमा राखेकोले त्यसको प्रभाव पनि पर्ने देखिन्छ । सो पार्टीले यादव समुदायबाट नागेश्वर मर्वेता, जनजातिबाट झम्पाल लाम र खसआर्यबाट सौगातजंग बस्नेतलाई प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचिमा राखेको छ । त्यस्तै प्रदेशतर्फ अनिता साह, घोघाई मुसहर, सुसन रेग्मी, राधा सुवेदी, लक्ष्मी तामाङलाई सूचीमा राखेको छ । भुगोल र जातीय समिकरण मिलाएर समानुपातिक सूची तयार पारेकोले त्यसको प्रभावसमेत मतदानमा पर्ने स्थिति देखिन्छ ।

जातीय समिकरणको स्थिति

सो क्षेत्रमा मुस्लिमको करिब २४ हजार, यादवको करिब २ हजार, मेहताको करिब १७ हजार, साहको करिब ८ हजार, मुसहरको करिब ८ हजार, उरावको करिब १४ हजार मतदाता र पहाडि समुदायको ३० हजार करिब मतदाता रहेका छन ।

जसमध्ये उराव समुदायबाट सो पार्टीले मात्रै उम्मेदवार बनाएको छ भने मुसहर समुदायबाट समेत सो पार्टीले मात्रै उम्मेदवार बनाएको छ । सो क्षेत्रमा मेहता समुदायको पनि सोही पार्टीबाट मात्रै उम्मेदवारी रहेकोले प्रमुख मतदाता रहेको तीन जातको मत जातीय रुपमा ध्रुविकरण हुने स्थिति बन्दै जाने विश्लेष्ण गरिएको छ ।

जातीय आधारमा यादव समुदायको ८० प्रतिसत, मेहता समुदायको ७५ प्रतिसत, उराँव समुदायको ७५ प्रतिसत, मुसहर समुदायको ५० प्रतिसत र साह समुदायको ४० प्रतिसतसँगै पहाडि समुदायको दश प्रतिसत मत प्राप्त हुने विश्लेष्ण सो पार्टीका नेताहरुले गरिरहेका छन ।

के हुन्छ यादव भोट ?

सो क्षेत्रमा झण्डै २२ हजारको संख्यामा रहेका यादव समुदायहरु मध्ये १८ हजार करिब मज्रेट समुदायका मतदाताहरु छन । यादव आफै सोही समुदायका प्रतिष्ठित ब्यक्तित्व भएकोले सो मतमा उल्लेख्य प्रभाव पार्ने सम्भावना देखिन्छ ।

कांग्रेसभित्रको असन्तुष्टीको प्रभाव

कांग्रेसभित्रको असन्तुष्टीको प्रभावको फाईदा पनि यादवलाई मिल्ने स्थानीयहरु बताउँछन । कांग्रेसभित्रका विशेष गरेर कोइराला खेमाको असन्तुष्ट मत यादवको पक्षमा जान सक्ने संकेतहरु स्थानीय स्तरमा बन्दै गएको छ । सुनसरी कांग्रेसका पुराना नेता भएकोले उनीप्रति धेरै पुराना पीडित कार्यकर्ताहरुको समर्थन फिल्डमा देखिन्छ ।

राप्रपाको आन्तरिक समर्थन

स्थानीय निर्वाचनमा कांग्रेसको टिकट वितरणबाट असन्तुष्ट कुञ्जिलालाको समर्थन रहेका राप्रपा उम्मेदवारले भोक्राहा नरसिंह गाउँपालिकामा तीनवटा वडामा जित्दै दह्रो उपस्थिति जनाएको छ । सो क्षेत्रका लोकप्रिय रामप्रसाद यादवले समेत उनकै चुनावी अभियानलाई अगाडि बढाएकोले राप्रपाको अधिकांश मतसमेत उनकै पक्षमा जाने अनुमान गरिएको छ ।

मधेस आन्दोलनको लिगेसी

मधेस आन्दोलनको उर्वर सो क्षेत्रमा अहिले कुनैपनि मधेसबादी दलका उम्मेदवार नरहेकोले गठबन्धन नरुचाएका मधेसबादी अन्य नेता कार्यकर्ता, समर्थक र सुभेच्छुकहरुको पनि मत उनको पक्षमा जाने सम्भावना देखिन्छ ।

‘ग्राउण्ड रियालिटी’मा ओझेलमा रहेका उम्मेदवार यादवको पक्षमा माहौल क्रमसः बन्दै जाँदा त्यसको प्रत्यक्ष घाटा कांग्रेस र एमालेका उम्मेदवारलाई हुने देखिन्छ । ग्राउण्डमा जसरी चुनावी प्रभावहरु देखिन थालेको छ । त्यसको आधारमा सुनसरी क्षेत्र नम्बर ४ को यसपटकको चुनावी भिडन्त द्धिपक्षीयमात्रै नरही बहुपक्षीय हुने संकेत देखिएको छ ।