इटहरीः   वैदेशिक रोजगार विभागले प्रादेशिक स्तरमा समेत विराटनगर सहितका सातै वटा श्रम तथा रोजगार कार्यालयहरुलाई वैदेशिक रोजगारका लागी निश्चित संख्यामा पूर्व र अन्तिम स्वीकृति प्रदान गर्ने अधिकार प्रत्यायोजन गरेको छ । विभागले प्रदेश नं १ को विराटनगर, मधेशको जनकपुर, गण्डकीको पोखरा, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयलाई अधिकार प्रत्यायोजन गरेको हो ।

ती कार्यालयले व्यक्तिगत श्रम स्वीकृती वा संस्थागतरूपमा श्रम स्वीकृति माग गर्नेलाई वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा पूर्व तथा अन्तिम स्वीकृति जारी गर्न सक्ने भएका छन् । यी कार्यालयलाई वैदेशिक रोजगारको लागी श्रम स्वीकृतिसम्बन्धी कार्य गर्ने अधिकार यसअघि नै प्रत्यायोयोजन गरेको थियो ।

विभागले क्षेत्रीय कार्यालयहरुलाई वैदेशिक रोजगारीका लागी कामदार पठाउनको लागी म्यानपावर कम्पनीले आवेदन संकलन गर्न विज्ञापन गरे,नगरेको अनुगमन गर्ने अधिकार पनि प्रत्यायोजन गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदनमा चालू आर्थिक वर्षको साउन र भदौ गरी दुई महिनाको अवधिमा वैदेशिक रोजगारीका लागी विदेशीने जनशक्तिको संख्या १ लाख नाघेको छ । बैंकका अनुसार पुन श्रम स्वीकृति लिने कामदारको संख्या दुई महिनाको अवधिमा गत आवको सोही अवधिको तुलनामा ७० प्रतिशतले वृद्धि भएको छ ।