गाईघाटः लक्ष्मीपूजाका दिन साथीभाइबीच खेलिने थारु समुदायको मौलिक खेल हुकेहुक्का लोप हुने खतरा बढेको छ । सनपाटबाट निर्मित हुकेहुक्का थारु समुदायले केही वर्ष अगाडिसम्म खेले पनि युवापुस्ताले संरक्षण नगर्दा यो खेल लोप हुने अवस्थामा पुगेको हो ।

पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, सर्लाही, रौतहट लगायतका जिल्लामा हुकेहुक्का खेल खेल्ने प्रचलन रहेकोमा सन्ठीको अभाव भएपछि यो खेलको अस्तित्व सङ्कटमा परेको सो समुदायका अगुवाहरूको भनाइ छ । पछिल्लो समय कृषकहरूले सनपाटको खेती गर्न छाडेपछि सन्ठीको अभाव भएको थारु पण्डित वासुदेव चौधरीले बताए । यो खेलका लागि सन्ठि नभई नहुने सामग्री हो । 

पौराणिक किंवदन्तीअनुसार परापूर्व कालदेखि खेलिदैआएको हुकेहुक्का एक मुठा सन्ठीलाई बाबियो खरले बाँधेर यो खेल खेलिन्थ्यो । घरको देउता कोठाको दलिनमा धान, चामलमाथि दियो राखी विधिवत् पूजागरी खेल खेल्ने चलन रहेको पण्डित चौधरीले बताउछन् । उनले भने, ‘सन्ठीको अभावले यो खेलको अस्तित्व  आजभोलि सङ्कटमा परेकोछ ।’

देउता घरको दलिनमा राखेको दियोमा हुकेहुक्का बाली थारु शब्दमा अनधन लक्ष्मी घर ढुक दरिदर बहार हो अर्थात् अन्न धनसहित लक्ष्मी घर पसुन् र दरिद्र बहार हुनु भन्दै तीन पल्टसम्म मन्त्र पढेर हुकेहुक्का सल्काउने गरिन्छ । यसरी सल्केको हुकेहुक्कालाई तीन फेरोसम्म देउता घरको चारैतिर घुमाएर दोबाटो वा खाली चौरमा लागि खेल्ने चलन छ ।

थारु पण्डित चौधरीले भने, ‘हुक्के–हुक्का तराईमा बस्ने आदिवासीले त्यतिबेला घनघोर जङ्गलमा बस्दा भूत, पिचास लगायतका नकारात्मक शक्तिसँग मुक्त रहन र धान चामल, बालीनाली राम्ररी सप्रियोस् भनेर हुकेहुक्का खेलको प्रचलन चलेको थियो । यस खेलले केही दिनमा किसानले आफूmले लगाएको अन्नबाली भित्र्याउने दिन आयो भनेर सङ्केत पनि गर्ने गरेको उनको भनाइ छ । 

अन्नबाली राम्ररी सप्रियोस् भनी हुकेहुक्काको जल्न बाँकी रहेको सन्ठिको भाग जम्मा गरेर दोबाटोमा जलाउने र बलेको आगोमा तीन पटकसम्म नाघेर आफ्नो घर जाने चलन रहेको पण्डितको भनाइ छ । त्यसपछि जलेको एक टुक्रा हुकेहुक्का अन्नबाली लगाएको खेत वा बारीमा लगेर गाड्ने चलन रहेको छ । बलेकोएउटा हुके हुक्काको ठुटाले दरिद्र वा कुनै किसिमको छोइछुत नलागोस् भनी घरमा ल्याइने गरिन्छ । यो खबर गोरखापत्रमा प्रकाशित भएको छ ।