दाङः सहरी विकास मन्त्री मेटमणि चौधरीले संविधान पार्टी भन्दा कयौँ गुणा ठुलो रहेको धारणा व्यक्त गरेका छन्  ।  

सत्ता गठबन्धनले विहीबार आयोजना गरेको राप्ती गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘नयाँ संविधान बनाउन कुनै भूमिका नखेलेकाहरुलाई अथवा संविधानै चाहिन्न भन्नेहरुलाई त यी सबै उपलब्धीहरू सामान्य लाग्लान् तर हिजो हाम्रा अग्रजहरू, शहीदहरू र स्वयम् हामी सहभागी भएर लडेर ल्याएको यो ब्यवस्था, यो संविधान चानचुने सङ्घर्षबाट प्राप्त भएको होइन ।’

नयाँ संविधानले समाजका सबैखाले वर्ग, तह र तप्काका जनताका मुद्दा सम्बोधन गरेको बताउँदै मन्त्री चौधरीले तत्कालीन प्रधानमन्त्री केपी ओलीले जनमतको अपमान गरेको बताए । 

‘एक जना सन्की, एक जना मूर्ख शासकको हातमा मुलुक पुग्दा सबै बर्बाद भयो । साराका सारा उपलब्धीहरू गुम्ने खतरा पैदा भयो । र एक जना जननिर्वाचित सांसद हुनुको नाताले हामीले संविधान पार्टी भन्दा कैयौँ गुणा ठुलो कुरा हो भन्ने महसुस गर्यौँ । त्यसैकारण जोखिम मोल्न हामीहरु तयार भयौँ ।’ मन्त्री चौधरीको भनाई थियो ।  

सत्ता गठबन्धन दलका कार्यकर्ताहरुलाई प्रदेश मन्त्री इन्द्रजित थारु, समानुपातिक उम्मेदवार शुशिला चौधरी, बुद्धिजीवी देव नारायण चौधरी लगायतले सक्रियतापूर्वक चुनावी माहोल निर्माणमा लाग्न निर्देशन दिएका छन् ।