इटहरीः बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको व्याजमा अत्यधिक वृद्धि गरेपछि इटहरीका व्यावसायीले पनि बुधबार बिरोध प्रदर्शन गर्दै आन्दोलन गरेका छन् ।
राष्ट्र बैंकले चर्को ब्याजदर नीति ल्याएपछि मार्कामा परेका ब्यवसायीहरूले बिभिन्न शहरमा आन्दोलन गरीरहेको बेला बुधबार इटहरीका दुई दर्जन भन्दा बढि व्यावसायीहरुले बैँकका शाखा तथा कार्यलयहरु घेराउ गर्दै नारावाजी समेत गरेका थिए ।
बैक हामीलाई प्यारो छ, व्याज वृद्धिले गाह्रो छ जस्ता बिभिन्न प्लेकार्ड बोकेका व्यावसायीहरुमा होटल व्यावसायी संघ इटहरी , रेडिमेड व्यावसायी संघ लगायतका दुइ दर्जन बढी ब्यवसायीहरूले बुधबार इटहरी क्षेत्रमा रहेका आधा दर्जन बढी बैंकका शाखाहरू घेराउ गरेका हुन । व्यवसायीहरूले बैँकको आतंक बन्द गर , पुरानो ब्याजदर कायम गर , व्यवसायी व्यवसायी एक हौ जस्ता प्लेकार्डहरू बोकेर बैंक बिरूद्ध नारावाजी गरेका थिए ।
आन्दोलन इटहरीको मुख्य चौकमा पुुगेपछि कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै उद्योग वाणिज्य संघ इटहरीका महासचिव पिताम्बर पोख्रेलले देशको अर्थतन्त्र धरासयी बनिरहेको बेला राष्ट्र बैंकले ल्याएको चर्को ब्याजदर नीतिले उल्टै ब्यवसायीहरूलाइ मार्ने तर्क दिएका थिए ।
उनले तत्काल यो निर्णय फिर्ता लिन राष्ट्र बैंक समक्ष माग गरेका छन । कोणसभामा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली, रेडिमेड व्यवसायी संघ इटहरीका अध्यक्ष सीताराम सापकोटा, उवासंघका पूर्व महासचिव टंक खनाल, सुनचाँदी व्यवसायी संघ इटहरीका अध्यक्ष टीका लामगादे लगायतले बोलेका थिए । आन्दोलनको नेतृत्व इटहरी उद्योग वाणिज्य संघले गरेको थियो ।