ताप्लेजुङः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको स्थायित्व र विकासका लागि गठबन्धनको जित अनिवार्य भएको बताएका छन् ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले गबन्धनले जिते मात्र देशको विकास र समृद्धि सुनिश्चित हुने भएकाले जित अनिवार्य रहेको बताए ।
जिल्लास्थित वाम–लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतसहित माओवादी केन्द्रका अध्यक्ष दाहाल ताप्लेजुङ आएका हुन् । अध्यक्ष दाहालले चुनावी सभालाई सम्बोधन गर्दै देशको समृद्धि साथै ताप्लेजुङको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरे ।
उनले विराटनगरको रानी हुँदै चीनको तिब्बत जोड्ने तमोर करिडोर सम्पन्न भएमा ताप्लेजुङको विकासको ढोका खुल्नेभन्दै करिडोर निर्माणलाई मुख्य प्राथमिकता दिइने बताए । तमोर करिडोरलगायत यहाँको पर्यटन प्रवद्र्धन र अन्य आवश्यक पूर्वाधारका योजनालाई विशेष महत्त्व दिएर ताप्लेजुङको विकासका लागि जोड दिने बताए ।
प्रचण्डले राष्ट्रियता, संविधान र प्राप्त उपलब्धिहरुको रक्षासँगै देशको विकास तथा समृद्धिका लागि हालको गठबन्धन भएको पनि स्पष्ट पारे । उनले सिङ्गो देशको विकास र समृद्धिका लागि गठबन्धनले जित्नुको विकल्प नभएकोसमेत बताए । उनले भने, “सिङ्गो देश र यहाँको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्छ, त्यसैले ताप्लेजुङवासीलाई आह्वान गर्दछु गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुहोस्।” ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीलाई विजयी गराएर पठाउन आह्वान गर्दै बुडाक्षेत्रीलाई मन्त्री बनाउने जिम्मा आफ्नो रहेको बताए ।
यस्तै प्रदेश सभामा गठबन्धनका उम्मेदवार खेमबहादुर वनेम र खगेनसिं हाङ्गामलाई जिताउन र उहाँहरुलाई पनि मन्त्री बनाउनका लागि नेकपा (एकीकृत समाजवादी)तथा कांग्रेसका शीर्ष नेतृत्वसँग आफूले समन्वय गर्ने उनले बताए । चुनावी सभामा सम्बोधनकै क्रममा बाँकी रहेको प्रदेश १ को नामाकरणको कार्य पूरा गर्ने जिम्मा गठबन्धनको भएकाले ताप्लेजुङबासीले सचेत भएर मतदान गर्नुपर्ने बताए ।
उनले प्रदेश १ को नाम किराँत राख्नुपर्ने आवश्यक भएकाले यसमा गठबन्धनका साझेदार दलसँग समन्वय गरेर नामाकरणका लागि आफूले पहल गर्ने बताए । एमालेले जितेमा प्रदेश १ को नामाकरण यहाँको ऐतिहासिकता र जनभावनाअनुसार सम्भव नहुने हुँदा गठबन्धनलाई जिताउन अनिवार्य भएको बताए ।
उनले एक अर्को प्रसङ्गमा एमाले अध्यक्ष केपी ओलीलाई भोट माग्दै हिड्ने नैतिक अधिकार नभएको पनि आरोप लगाए । उनले प्रश्न गर्दै भने, “प्रतिगमन सफल बनाउन, संविधान मिच्न र जनताको अधिकारलाई खोस्नलाई भोट दिनुस् भन्दै ओलीले हिँड्ने ?” यो निर्वाचनमा उहाँलाई मतदातासँग भोट माग्ने कुनै अधिकार नभएको उनको भनाइ थियो।
त्यस्तै कांग्रेस प्रवक्ता महतले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन ताप्लेजुङबासीलाई आह्वान गरे । प्रतिगमनविरुद्ध तथा राष्ट्रिय आवश्यकताअनुसार गठबन्धन भएकाले कुनै पनि अप्ठ्यारो नमानी गठबन्धनका साझा उम्मेदवारको आ–आफ्नो चिह्नमा मतदान गरेर जिताउन आग्रह गरेको खबर गोरखापत्र अनलाइनमा प्रकाशित भएको छ ।