इटहरीः नेपाली काङ्ग्रेसकी महासमिति सदस्य लक्ष्मी खतिवडाले नेतृत्व गर्न तिघ्रा कमाउनेले पार्टी छाड्नुपर्ने बताएकी छिन् । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा बोल्दै उनले पार्टी नेतृत्व नसच्चिए कार्यकर्ताको शिर ठाडो नहुने बताइन् । सुनसरी क्षेत्र नं १ की माहासमिति सदस्य खतिवडाले नेताहरूप्रति खबरदारी गरेकी हुन् ।

‘जँघार तर्नेले खुट्टा कमाउन हुँदैन । तिघ्रा कमाउने हो भने नेतृत्व छाड्नुपर्छ’, उनले भनिन्, ‘केपी ओली नेतृत्वको सरकारलाई हाराबारा तोरी खेलाउन काङ्ग्रेसका हरेक कार्यकर्ता सक्षम छन् ।’

हिजो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचन सफल भएको भन्दै त्यसका पार्टी सभापति सबैको धन्यवादको पात्र रहेको उनको भनाइ छ । शेरबहादुर देउवा असक्षम भएको भनी टिप्पणी भइरहेको बेला तिनै तहको निर्वाचन सफल भएको भन्दै पार्टी सभापतिप्रति उनले आभार व्यक्त गरिन् ।

तिनै तहको चुनाव गराउन सक्दैन भनी सबै पार्टीले भन्दै गर्दा पनि जुन साहसका साथ निर्वाचन भयो त्यसको सबैले प्रशंसा गर्नुपर्ने उनको भनाइ छ । यदि त्यही समयमा निर्वाचन हुन नसकेको भए देश भड्खालोमा फस्न सक्ने उनको तर्क थियो ।

केही मनोनित नेताप्रति इङ्गित गर्दै उनले विधानविपरीत मनोनित हुने नेतालाई विधानकै विषयमा चर्का नारा लगाउने अधिकार नरहेको उनको भनाइ थियो । एउटा सामान्य कार्यकर्तादेखि पार्टी सभापतिसम्म विधानले बाँधिनुपर्ने भन्दै उनले विधानको विरुद्धमा पार्टी अगाडि बढे सङ्कट आइपर्नेे बताइन् ।

नेताहरू संयमित भएनन् र नेताहरूको कद घट्यो भने आफ्नो पनि कद घट्ने भन्दै कार्यकर्ताको लागि भए पनि नेतालाई संयमित भएर काम गर्न उनले आग्रह गरिन् ।

भातृ संस्थाहरू निस्क्रिय भइरहेको बेला भातृसंस्थालाई सक्रिय बनाएर सरकारको विरुद्धमा खबरदारी गर्न लगाउन उनले आग्रह गरिन् । निर्मलाका निम्ति न्यायको आन्दोलनमा हातमा चोट लागेको स्मरण गराउँदै उनले भनिन्, ‘भातृसंस्थालाई सडकमा उतार्नुस् हामी रगत बगाउन तयार छौँ । बढ्दो महङ्गी र भ्रष्टाचारका विरुद्ध भातृ संस्था परिचालन गर्नुस् त्यसको लागि हामी तयार छाँै ।’

laxmi khatiwada  (1)