भोजपुरः जिल्ला अदालतले बुधबार विभिन्न मुद्दाका ५ जनालाई जेल चलानको फैसला सुनाएको छ ।

अदालतले कर्तव्य ज्यान मुद्दामा रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका ४० वर्षीय नरकुमार भन्ने सुमन राईलाई ११ वर्ष कैदसहित १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । राईले गत कात्तिक २४ गते ४७ वर्षीया दिदीलाई कुखुराको खोरको ढोका लगाउन प्रयोग गरिने काठले टाउकामा हिर्काएर हत्या गरेको अदालतले जनाएको छ ।

त्यस्तै, अदालतले अरुण गाउँपालिका–४ चरम्बीका १४ वर्षीय निशान नेपालीलाई सोही ठाउँकी बालिकालाई करणी गरेको आरोपमा एक महिन कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । यस्तै २६ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा अरुण गाउँपालिका–४ चरम्बीका सन्तोष विश्मकर्मालाई ६ वर्ष कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ । विश्वकर्माले गत असोज ६ गते सोही ठाउँकी युवतीलाई बलात्कार गरेका थिए ।

बहुविवाहको आरोपमा भोजपुरको षडानन्द नगरपालिका–१३ बोयाका प्रवीन श्रेष्ठ र भोजपुर नगरपालिका–१ बस्ने इन्दिरा तामाङलाई १ वर्ष ६ महिना कैद सजायसहित रु १५÷१५ हजार क्षतिपूर्तिको फैसला गरेकोे छ । श्रेष्ठ र तामाङले गत कात्तिक ७ गते विवाह गरेका थिए । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजलाशले ती आदेश दिएको बताइएको छ ।