इटहरी/ सरकारले कृषि प्रयोजनको लागि भनेर भन्सार छुट दिइएका ट्याक्टरहरूले उत्तरी मोरङमा खोलाको ढुंगा चोरी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीले निगरानी बढाएको भनिए पनि उनीहरूलाई छल्दै ट्याक्टरहरूले ढुंगा चोरी गरिरहेका छन् । सोमबार बिहान ३ बजेतिर प्रहरीले को २ त ५९०७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

यस्तै, प्रहरीलाई देख्नेबित्तिकै को २ त ६९६८ र को १ त ४०४२ नम्बरको ट्याक्टर खोलामै छाडेर ड्राइभर भागेको स्थानीय बताउँछन् । उनीहरूले ट्याक्टर बिगारेर भागेपछि प्रहरीलाई कार्यालयसम्म लान पनि समस्या भएको थियो ।

मोरङको केराबारी गाउँपालिकास्थित खदम खोलामा तस्करी नियन्त्रणमा समस्या भएको छ । ढुंगा चोरीमा सक्रिय ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाए पनि जरिवाना न्यून हुँदा चोरी रोक्न समस्या भएको हो ।

इलाका प्रहरी कार्यालय केराबारीले खोलामा तस्करी गर्ने ट्याक्टर पटकपटक नियन्त्रणमा लिए पनि जिल्ला समन्वय समिति र गाउँपालिकाले एक पटकको १० हजार रुपैयाँ मात्र लिई छाड्ने गरेकाले समस्या भएको चोरी तस्करी नियन्त्रणमा लागेका प्रहरी बताउँछन् ।

कृषि प्रयोजनका लागि भनेर भन्सार छुटमा नेपाल भित्र्याइएका ट्याक्टर कृषि कर्म छाडेर व्यावसायिक प्रयोजनमा लागेपछि समस्याको रूपमा देखा परेका छन् । चोरीमा सक्रिय ट्याक्टर नियन्त्रणमा लिए जरिवानाबापत १० हजार रुपैयाँ तिर्नुपर्ने प्रावधान छ । जरिवाना रकम कम भएको हुँदा चोरी तस्करी नियन्त्रणमा समस्या हुने गरेको स्थानीय बताउँछन् ।

यसैगरी खदम खोलामा बाढी आएको मौका छोपेर ट्याक्टरहरू ढुंगा चोर्न खोला पस्ने गरेका छन् । खोलाको पूर्वपट्टि प्रहरी कार्यालय भए पनि खोलाको पश्चिमपट्टि डाँगी र मुगु क्षेत्रमा ढुंगा तस्करी हुने गर्छ । डाँगी र मुगु क्षेत्रमा आउँदा खोला गहिरो भएका कारण तर्न समस्या हुँदा प्रहरीलाई थप समस्या समेत हुने गर्छ । जसको फाइदा तस्करले लिने गरेको स्थानीयको भनाइ छ ।

तस्करी र खोला दोहनका कारण खोला वारपार गर्न समेत समस्या भएकाले तस्करी नियन्त्रणका लागि डाँगी क्षेत्रमा प्रहरी कार्यालय स्थापना गर्न समेत स्थानीयले माग गरेका छन् ।

यसैबीच प्रहरीको आँखा छलेर स्थानीय मजदुरले दिनभर ढुंगा संकलन गर्ने र ट्याक्टर सञ्चालकले कृषि काम छाडेर रातभर तस्करी गर्ने गरेको स्थानीयको भनाइ छ । स्थानीय क्रसर सञ्चालक र खोला दोहनमा संलग्नले खदम खोला अत्यधिक गहिरो बनाएका कारण डाँगी क्षेत्रको करिब ७ सय बिघा खेतीयोग्य जमिनमा सिंचाइ पु¥याउन नसक्दा सयौं परिवारको बिजोग भएको स्थानीय किसान बताउँछन् ।

खोला दोहनका कारण खोला गहिरिएकाले खेतीयोग्य जमिनमा पानी जाने पैनीमा पानी नचढ्ने हुनाले खेतीमा समस्या हुँदा मुगु र डाँगी क्षेत्रको सयौँ बिघा जमिन बाँझै राख्नुपर्ने अवस्था आएको स्थानीय किसान बताउँछन् । उनी भन्छन्, ‘खोला जति सबै खनेर गहिरिएको छ । खोलामा पानी त छ नि । कुलोमा पानी उठाउन सकिँदैन, कसरी खेत रोप्नु ? अब क्रसरवालाकैमा चामल माग्न जानुपर्ला ।’

स्थानीयले खोला दोहनका कारण भएको समस्या सञ्चारकर्मीलाई बताए पनि दोहनमा संलग्नको संख्या ठुलो भएको अनि गुण्डागर्दीमा संलग्न समूहसँग मिलेमतो रहेका कारण नाम सार्वजनिक गर्न डर हुने बताए । स्थानीय किसानले सबै पीडा सुनाए पनि अन्त्यमा भने, ‘हाम्रो नाम चाहिँ नलेखिदिनु होला । यिनीहरूका मान्छेले घरमै आएर हामीलाई जे पनि गर्न सक्छन् ।’