गाईघाटः  उदयपुरमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको मत गणना जारी रहेको छ । गणनाको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका उम्मेदवार डा.नारायण खड्का नेकपा एमालेकी उम्मेदवार मञ्जुकुमारी चौधरीभन्दा २२८ मतले अगाडि छन् । 

सदरमुकाम गाईघाटस्थित त्रियुगा नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा भइरहेको गणना अनुसार निर्वाचन क्षेत्र नम्बर १ को चार हजार ९५० मत गणना गर्दा डा. खड्काले दुई हजार १०८ मत पाएका छन्  भने चौधरीले एक हजार ८८० मत प्राप्त गरेकी छन् । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका धु्रवकुमार रायमाझीले १९१ मत मात्र प्राप्त गरेको उदयपुरका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । उनका अनुसार क्षेत्र नम्बर १ को त्रियुगा नगरपालिका प्रदेश सभा (ख) क्षेत्रमा पाँच हजार ४१४ मतगणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्की नेकपा एमालेका ईश्वरमणि राउतभन्दा ५२५ मतले अगाडि छन् । 

कार्कीले दुई हजार चार सय ४९ मत प्राप्त गरेका छन् भने  राउतले एक हजार ९२४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले जानकारी दिए । त्यसैगरी क्षेत्र नम्बर १ को चौदण्डिगढी र वेलका नगरपालिका रहेको प्रदेशसभा (क) क्षेत्रमा चार हजार २९५ मत गणना गर्दा नेकपा एमालेका कुशलबाबु बस्नेतले एक हजार ६५५ र नेकपा माओवादीका उम्मेदवारले एक हजार ६१४ मत प्राप्त गर्नुभएको मत प्राप्त गरेका छन् ।

उता क्षेत्र नम्बर को कटारीमा भइरहेको मत गणनाको पछिल्लो विवरण अनुसार प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार अम्बर रायमाझीले अग्रता लिई रहेका छन्  । २० हजार ८८६ मत गणना गर्दा रायमाझीले सात हजार २६०, नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले ६ हजार ५३ र स्वतन्त्र रामकुमार राईले चार हजार ६२२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।