धनकुटाः सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि धनकुटामा विभिन्न सवारी साधनका चालकहरूलाई प्रशिक्षण दिइएको छ ।
आफ्नो सवारी साधनको अवस्था दुरुस्त गर्ने, हुस्सुको समयमा बाक्लो कुहिरोका कारण दुर्घटना हुन नदिन फग लाइटको प्रयोग गर्ने, बत्तीको प्रयोग गर्ने, ब्रेक डिस्टेन्स र लेन अनुशासन पालना गर्नुपर्ने विषयमा प्रशिक्षण दिइएको बताइएको छ । सुरक्षित सवारी ओभरटेक र सुरक्षित सडक प्रयोगसम्बन्धी प्रशिक्षण दिइएको कार्यालयले जनाएको छ ।
त्यस्तै, सवारी दुर्घटना न्यूनीकरणको लागि १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरी सहितको टोलीले सुनसरीमा सचेतनामूलक प्रशिक्षण दिएको थियो । सुनसरीको लौकहीमा विभिन्न सवारी साधनका चालकहरूलाई ट्राफिक सचेतनामूलक प्रशिक्षण दिइएको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंका अनुसार सवारी दुर्घटना न्यूनीकरणको लागि दमक–४ स्थित लायन्स क्लब, लियो क्लब दमक र ट्राफिक प्रहरी कार्यालय दमकको संयुक्त आयोजनामा निकालिएको सचेतनामूलक र्यालीले बजार परिक्रमा गरेको थियो ।