इटहरीः प्रदेश नम्बर १ को झापामा स्थायी घर भएका युवा सुशासन अभियन्ता प्रकाश विकल्प (मणि पोख्रेल)ले लामो अध्ययन गरी तयार पारेको पुस्तक ‘देश किन बनेन’ भोलि शनिबार काठमाडौंमा सार्वजनिक हुँदैछ ।

नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सो पुस्तकको सार्वजनिक गर्दैछन् ।

पुस्तकमा लेखकले देश के कारणले बन्न नसकेको हो अनि अब के गर्दा देश बन्न सक्छ भन्ने बारेमा सामग्रीहरू पस्केका छन् । लेखकले पुस्तकमा देश बनाउने जिम्मेवारी लिने जनता, नेता, कर्मचारी, बुद्धिजीवी वर्ग लगायतको कमजोरीकै कारण देश बन्न नसकेको विषय समेटिएको बताएका छन् ।

‘यो पुस्तक मात्र होइन, राष्ट्र निर्माणको अभियान पनि हो’ भन्ने मूल नारा दिएर साङ्ग्रिला बुक्सले पुस्तक प्रकाशन गरेको बताइएको छ । सो पुस्तकमाथि राधेश्याम अधिकारी, सर्वेन्द्रनाथ शुक्ला र सुशासन विज्ञ यशोदा तिम्सिनाले टिप्पणी गर्ने कार्यक्रम रहेको लेखक पोखरेलले बताए ।

prakas bikalpa urf maniraj pokhrel

हामी कहाँ चुक्यौं, किन व्यवस्था मात्र फेरिए तर देश विकास भएन ? देशले सही गति पक्रन नसक्नुका प्रमुख कारक के हुन् र तिनको समाधान अब के हुन सक्छ ? विश्वका उदाहरणीय देशले कसरी समृद्धि हासिल गरे, नेपालले तिनबाट के सिक्न सक्छ ? देश निर्माणमा राजनीतिक दल, कर्मचारीतन्त्र, पेशा–व्यवसायी र आम नागरिकको भूमिका के हुनुपर्छ भन्ने विषयको मन्थन गरिएको पनि उनले बताए ।

नेपाल राष्ट्रिय गानमा मात्रै सुन्दर भएको तर भोगाइको नेपाल कष्टपूर्ण रहेको उनले बताए । देश बनाउने जिम्मा लिएकाहरूले समृद्धिको भाषण गरे, कर्मचारीतन्त्रले देशको सेवा गरेको भने, नागरिकले समृद्धिको चाहना राखे तर पनि किन देश विकास भएन भन्ने गम्भीर प्रश्न पुस्तकमा उठाइएको पोखरेलको भनाइ छ ।