विराटनगरः प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने बताएका छन् ।

मोरङ व्यापार सङ्घ विराटनगरद्वारा आयोजित व्यापार मेला ‘विराट ट्रेड एक्स्पो २०१८’ को आज उद्घाटन गर्दै उनले मोरङको औद्योगिक करिडोरलाई औद्योगिक हब बनाउने मुख्यमन्त्रीले बताए ।

आफ्नो सरकारको पहिलो नीति तथा कार्यक्रममै आएको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र विराटनगरमा बनाउने उनले बताए । प्रदेश १ सरकारले इटहरीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शन केन्द्र बनाउने नीति ल्याएको छ ।

विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन कार्य प्रारम्भ भइरहेको उनको भनाइ थियो । विराट ट्रेड एक्स्पोले यस क्षेत्रको आर्थिक क्रियाकलाप बढाउन थप टेवा दिने विश्वास आफूले लिएको उनले बताए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रको विकासमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष किशोर प्रधानले राजनीतिक क्रान्तिपछि अब नैतिक क्रान्तिको आवश्यकता भएको बताए ।

प्रदेश नं १ मा आर्थिक क्रियाकलाप बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरमा शुरु भएको एक्स्पो पुस १४ गतेसम्म आयोजकले जनाएको छ । सो मेलामा प्रत्यक्ष रूपमा २० करोडको आर्थिक कारोबार हुने नेपाल उद्योग वाणिज्य महासङ्घ मेला समितिका सदस्य ललित सिंखडाले बताए ।

मेलामा नेपालका २ सय ८ तथा भारत, पाकिस्तान र बङ्गलादेशका गरी ४२ वटा स्टल छन् । दैनिक उपभोग्य सामग्री, मेशिनरी पार्टपुर्जा, गाडी, तयारी पोशाक, छालाका सामान, हस्तकलाका वस्तु, साडी, कृषि सामग्री, मोबाइल र टेलिफोन जस्ता सामानको स्टल रहने आयोजकले जनाएको छ ।

birat expo  (2)

birat expo  (3) birat expo  (1)