इटहरीः इटहरी–२, आँपगाछीस्थित पासाङमार्गमा निर्माणाधीन कल्भर्टमा लापरवाही भएको पाइएको छ । ‘नमु निर्माण सेवा’ले निर्माण गर्दै गरेको उक्त कल्भर्टमा लापरबाही भएको पाइएको हो ।

इटहरी उपमहानगरपालिकासँग २० लाख रुपैयाँबराबरको लागतमा सम्झौता गरी निर्माण भइरहेको सो कल्भर्टको निर्माण सामग्री कमसल भएको पाइएको छ । निमार्णाधीन अवस्थामा नै विङवाल चर्किएको पाइएको हो । तर चर्किएको सो पर्खाल निर्माण कम्पनीले पर्खाल टालेको छ ।

पर्खाल निर्माण गर्दा पूर्ण रूपमा कङ्क्रिट हाल्नुपर्ने हुन्छ । तर निर्माण कम्पनीले कङक्रिटको ठाउँमा ठूलाठूला ढुङ्गा हालेर पर्खाल भर्ने काम गरिरहेको छ । जसको कारण पर्खाल कमसल भएको पाइएको छ । एकातर्फको पर्खालमा ढुङ्गा प्रयोग गरिएको छैन भने भर्खरै बन्दै गरेको पर्खाल ढुङ्गाले मात्र भरिएको छ ।

यसरी बनेको पर्खाल चाँडै नै भत्कन सक्ने बताउँछन् धरान उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठ । यसरी निर्माण गर्दा ब्लम कङ्क्रिट गरेको हुनुपर्ने हुन्छ । तर उक्त निर्माणकार्यमा ब्लम कङ्क्रिट गरेको पाइँदैन । बीसीजी (पूर्ण कङ्क्रिट) को डिजाइनमा बन्नुपर्ने उक्त कल्भर्ट डिजाइनभन्दा फरक शैलीमा निर्माण भएको हो ।

एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको सो कल्भर्ट बनाइसक्नुपर्ने मिति १ महिनामा सकिँदैछ । तर सो समयमा निर्माण सम्पन्न हुन सक्ने सम्भावना देखिँदैन । सम्झौता भएको समयमा काम हुन नसके केही समयको लागि समय थप गरिने इटहरी उपमहानरपालिकाका इञ्जिनियर महेश धिताल बताउँछन् ।

calbort  (1) calbort  (3)