इनरुवाः भूमिगत रूपमा रही सशस्त्र युद्ध गर्दै आएको खम्बुवान मुक्ति मोर्चा (संयुक्त) ले आज सुनसरीमा हतियार बुझाउँदै आत्मसमर्पण गरेको छ ।
वार्ता टोली संयोजक पाण्डेका अनुसार खम्बुवान मुक्ति मोर्चा संयुक्तका संयोजक डेबिड खम्बू तथा सदस्यहरू प्रकाश रसाइली, सुवास खम्बू र जीवन रेग्मीले आत्मसमर्पण गरेका हुन् ।
४ थान भरुवा बन्दुक, १ थान मस्कट, १ थान पेस्तोललगायतका अन्य हतियारसहित उनीहरूले आत्मसमर्पण गरेका हुन् । सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे तथा अन्य सदस्यको रोहबरमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा ती हतियार बुझाइएको हो ।
सो समूहले म्यागजिन १ थान, सानो आकारको गोली ४ थान र ठूलो आकारको गोली १ थान बुझाएर सशस्त्र राजनीति त्यागी शान्तिपूर्ण राजनीतिमा लाग्ने प्रण गरेको वार्ता टोलीका संयोजक पाण्डेले बताए ।
मोर्चाले वार्ता टोलीसमक्ष राखेका र कानुनबमोजिम पूरा गर्न सकिने माग पूरा गराउन सरकारसँग सिफारिश गरिने पाण्डेले बताए ।
सशस्त्र समूहका सदस्यले वार्ता टोली संयोजक पाण्डेका साथै सदस्य सुरेशकुमार आलेमगर र लीलाकुमारी भण्डारीको रोहबरमा आत्मसमर्पण गरेका थिए ।
त्यस क्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, प्रमुख सेनानी घनश्याम भट्टराई र प्रहरी उपरीक्षक राजन अधिकारी पनि उपस्थित थिए । त्यसैगरी, सशस्त्र प्रहरी उपरीक्षक सुरेशकुमार श्रेष्ठ, उपअनुसन्धान निर्देशक टीकाप्रसाद पोखरेल र राजनीतिक वार्ता टोलीका लेखापाल तीर्थराज अधिकारीको उपस्थितिमा मोर्चाका सदस्यले आत्मसमर्पण गरेका थिए ।