इटहरीः देशले विकास र समृद्धिको सही गति पक्रन नसक्नुको कारणको खोजी गर्दै समाधानका पाटाहरू समेत केलाएर प्रस्तुत गरिएको नयाँ पुस्तक ‘देश किन बनेन’ आजदेखि बजारमा आएको छ ।

झापामा घर भएका सामाजिक तथा सुशासन अभियन्ता प्रकाश विकल्पद्वारा लिखित सो पुस्तकको पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आज काठमाडौंमा विमोचन गरे ।

पुस्तकले देशको वर्तमान यथार्थता चित्रण गरेको छ । देश निर्माणका क्रममा भएका कमीकमजोरीहरूलाई एकअर्कामा दोषारोपण गर्ने तर आफ्नो कमजोरी कहिल्यै नदेख्ने विषयलाई पुस्तकले देशका विभिन्न कालखण्डमा भएका घटनाक्रमको प्रस्तुतिबाट पस्किएको छ ।

देश निर्माणमा राजनीतिक दल, कर्मचारी, विभिन्न पेशा व्यवसायी र आम नागरिकको भूमिकाको बारेमा पुस्तकमा उल्लेख गरिएको छ । पुस्तकमा धर्म संस्कृति, सामाजिक, राजनीतिक विभेदताले भोग्नुपरिरहेको समस्यादेखि भ्रष्टाचार, अन्तराष्ट्रिय हस्तक्षेप लगायतका कुराहरूले नेपाली समाजलाई पारेको थिलथिलोलाई केही फरक ढङ्गबाट उल्लेख गरिएको लेखक विकल्पले बताए ।

‘हामी सधैँ परिणाममुखी भएर मात्र कुरा गर्छौँ तर समस्याको मूल जरो के हो भन्नेमा कहिल्यै जान चाहेनौं,’ विकल्पले भने, ‘अब ढिला भइसकेको छ । त्यसैले समस्याको मूल कारणको खोजी गरी त्यसलाई निर्मूल पार्नुपर्छ ।’

पुस्तकको विमोचन गर्दै पूर्व प्रधानमन्त्री दाहालले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन ‘देश किन बनेन’ पुस्तक एउटा विकल्पको रूपमा रहेको बताए । उनले आम सचेत युवाहरूले आफ्नो क्षेत्रबाट देश बनाउने अभियानमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

विज्ञान र गतिशीलताले देश तथा समाजलाई सही बाटोमा डो¥याउन सके मात्र हामीले सोचेको र भन्दै आएको नेपाल बनाउन सक्ने कुरा पुस्तकमा उल्लेख भएको आफूले पाएको दाहालले बताए ।

राजपा अध्यक्ष मण्डलका अध्यक्ष महेन्द्र राय यादवले विभिन्न नाममा भएका विभेद र त्यसले देश विकासमा पारेको असरलाई पुस्तकले उतारेको बताए । त्यस्तै, नेपाली काङ्ग्रेसका नेता राधेश्याम अधिकारीले ‘देश किन बनेन’ पुस्तकले सम्पूर्ण नेपाली नागरिकको सवालको प्रतिनिधित्व गरेको बताए ।

सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले अर्काले भनेर, अर्कैले गरिदिएर आफ्नो भूमिकालाई भुलेर द्वैध चरित्र देखाउने हामी नागरिकको कर्तव्यलाई समेत पुस्तकले राम्ररी औंल्याएको टिप्पणी गरिन् । देश पछाडि पर्नुमा सबै पक्षले धेरथोर जिम्मेवारी लिनुपर्ने आयुक्त तिम्सिनाको भनाइ थियो ।

des kina binena