इनरुवाः तराईमा आन्दोलनरत सीके राउत समूहका नारा राजनीतिक भन्दा पनि विखण्डनकारी रहेकाले राउतसँग सरकारी वार्ता टोलीले वार्ता नगर्ने भएको छ ।
राजनीतिक एजेण्डा नै नभएको सीके राउत समूहसँग वार्ता नगर्ने जनाएको टोलीले सरकारलाई सीके राउतविरुद्ध कडा रूपमा प्रस्तुत हुन सुझाव दिएको छ । त्यस्तै, कानुनबमोजिम सुरक्षाकर्मी खटाएर राउत समूहका गतिविधि निस्तेज पार्न पनि वार्ता टोलीले अनुरोध गरेको छ ।
सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले राजनीतिक भन्दा पनि विखण्डनकारी मुद्दा बोकेको समूहसँग वार्ताको कुनै औचित्य नभएको बताएका हुन् । शनिबार सुनसरी सदरमुकाम इनरुवामा सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले सिके राउतसँग वार्ता गर्ने राजनीतिक एजेन्डा नै नभएको भन्दै बार्ता गर्नुको कुनै तुक नरहेको स्पस्ट पारेका थिए ।
‘सरकारले हामीलाई दिएको जिम्मेवारी राजनीतिक एजेन्डा बोकेका भूमिगत समुहलाई हतियार बिसाउन लगाई स्वतन्त्र राजनीतिमा ल्याउनु हो’, संयोजक पाण्डेले भने, ‘हामीले धेरै अध्ययन गर्दा पनि सीके राउतसँग कुनै राजनीतिक एजेन्डा छैन । विखण्डनकारी अनि शस्त्रसहितको समूह भएकाले सरकारलाई आफ्नो देशको अखण्डता बचाउन कडा रूपले प्रस्तुत हुन सुझाउने छाँै ।’
जनतालाई दुःख दिने र मुलुकलाई टुक्र्याउने मुख्य ध्येय राउतको भएकाले सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाउने तयारी रहेको संयोजक पाण्डेले बताए ।