Photo: Miss Itahari Purwanchal 2017

इटहरी/ अडिसन सकिएर तालिमको चरणमा रहेको मिस सुनसरीमा सहभागी केही युवतीलाई यौन दुव्र्यवहार गरिएको विषय गुपचुप बनाउन इटहरी लेडी जेसीज सक्रिय भएको छ ।

केही दिन अगाडि मिस सुनसरीमा फोटो सुटका क्रममा आफूहरूलाई अनावश्यक रूपमा भित्री वस्त्र खोल्न लगाएको र गोप्य अंगहरूमा नाजायज स्पर्श भएको भन्दै केही युवतीहरूले गुनासो गरे पनि लेडी जेसीजले मिल्न दबाब दिएको युवतीहरूले बताएका थिए ।

पल इन्टरटेनमेन्ट नामक संस्थासँगै सहकार्य गरेर प्रतियोगिता आयोजना गरेको इटहरी लेडी जेसीजलाई आफ्ना भित्री वस्त्र नाजायज रूपमा छोएको र अनावश्यक अनि भद्दा पोज दिन लगाएको भन्दै आजित युवतीहरूले उजुरी गरेका थिए । तर, प्रतियोगितालाई असर पर्ने भन्दै आयोजक लेडी जेसीजले अहिले माफी मगाएर मिल्ने र प्रतियोगिता सकिएपछि छानबिन हुने भन्दै पन्छाएका थिए ।

लेडी जेसीज पदाधिकारीले यसो भनेको अडियो ती युवतीहरूसँग अझै सुरक्षित छ । यसरी आफँैले एक हिसाबमा यौन हिंसा स्वीकार्दै पल इन्टरटेमेन्टका अमित पललाई माफी मगाएको इटहरी लेडी जेसीजकी अध्यक्ष मिनु न्यौपानेलगायतले अहिले बोली फेरेका छन् ।

उनीहरूले युवतीहरूलाई त्यस्तो दुव्र्यवहार नभएको भनेर खुलेआम रूपमा पलको बचावट गर्न थालेका छन् । एक्लाएक्लै फोटो सुुट नहुने र फोटो सुट हुँदा सबै हुने हुनाले त्यस्तो दुव्र्यवहार नहुने भनेर उनीहरूले आफ्नो पहिलेको भनाइविपरीत बोल्न थालेका छन् ।

पल इन्टरटेनमेन्टको भन्दा पनि लेडी जेसीजको इज्जत जाने भनेर उनीहरूले बयान फेरेको उनीहरू निकटकाले बताउन थालेका छन् । यस विषयमा बुझ्न इटहरी लेडी जेसीज अध्यक्ष न्यौपानेलाई पसटकपटक फोन सम्पर्क गर्दा उनको फोन उठेन ।

समाचार लेख्नेलाई ठेगान लगाउने धम्की
समाचार लेख्ने पत्रकारलाई आयोजकले पत्रकार सम्मेलनमार्फत् ठेगान लगाउने चेतावनी दिएको छ । आयोजक समर्थित र ताजको प्रतीक्षामा रहेका केही प्रतिस्पर्धी र पत्रकार सम्मेलन शुरु हुनै लाग्दा भेला भएका कुन्डलेहरूले यस्तो धम्की दिएका हुन् । पूर्वी बजारलाई प्राप्त एक भिडियोमा एक प्रतिस्पर्धी युवती र केही कुन्डलेले मिस सुनसरीको विषयमा माफी मागेको विषयमा समाचार लेखेको भन्दै पत्रकारको नामै लिएर यस्तो धम्की दिएका छन् ।

बुधबार साँझ इटहरीको विराटनगर लाइनमा रहेको इटहरी बैंक्वेटमा पत्रकार सम्मेलनका नाममा बोलाइएका प्रतिस्पर्धी, पत्रकार र आयोजकको भीडमा उनीहरूले यस्तो भनेका हुन् । प्रतिस्पर्धी र कुन्डलेहरूले पत्रकार घिसार्ने कुरा गरिरहँदा इटहरी लेडी जेसीज र आयोजक पल इन्टरटेनमेन्टका अमित पौडेलले सांकेतिक साथ दिइरहेका थिए ।

यसरी पत्रकार सम्मेलनमै पत्रकारविरुद्ध बिषवमन गरेकोे कार्यक्रम स्थलमा केही समयपछि पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्का पनि पुगेका थिए । अयोजकले पत्रकार खड्कालाई पनि बोल्ने मौका नदिएर एकोहोरो कुरा राखेका थिए ।

पत्रकारलाई घिसारेर प्रहरीकोमा लाने भनेर नेपाल थरकी एक प्रतिस्पर्धीले र एक कुन्डलेले दिएको धम्कीको बारेमा बुझ्दा आयोजक पल इन्टरटेनमेन्टका अमित पल भनिने अमित पौडेलले आफू त्यसमा जिम्मेवार नभएको बताए ।

यसरी बाहिरियो यौन दुव्र्यवहारको कुरा
जेठ २२ गते इटहरीको होटल प्रिमियरमा भएको अडिसनपछि इटहरी बैंक्वेटमा हाल तालिम सञ्चालन भइरहेको छ । तर, असार दोस्रो हप्ता प्रतियोगितामा भाग लिएका युवतीहरूमा भित्री वस्त्र मात्रै लाएर पोज दिन र असहज मुद्रामा फोटो सुट गर्न आयोजकले आग्रह गरेपछि केही युवतीले तालिमै छाडेका थिए ।

आयोजक अमित पल भनिने अमित पौडेलले प्रतिस्पर्धी युवतीहरूलाई विभिन्न अर्धनग्न तस्बिर देखाएर त्यस्तै पोज दिन भनेपछि युवतीहरूले तालिम छाड्न थालेका छन् ।

जेठ २२ गते २१ जनाले अडिसन दिएकोमा १८ जना क्लोज क्याम्पमा थिए । तर, क्लोज क्याम्पबाट ४ युवती बाहिरिए । तालिमबाट आफँै बाहिरिएका युवतीहरूले एक आपसमा कुराकानी गर्न थाले । आफ्ना साथीहरूसँग कुराकानी गर्ने क्रममा प्रतियोगिता छाड्नुको कारण बताउन थाले । यसै क्रममा यी सबै कुराको अडियो र भिडियो प्रमाण केही पत्रकारमाझ पुग्यो ।