विराटनगरः सीमावर्ती भारतीय बजार जोगबनीबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले २४ लाख नेपाली रुपैयाँसहित २ जना भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत अररिया जिल्ला फारबिसगञ्ज–९ का २८ वर्षीय सनोजकुमार साह र ५० वर्षीया सुशीलादेवी गुप्ता साह छन् । जाँचका क्रममा बिआर ३८ एच ६१४२ नम्बरको भारतीय सुजुकी कारमा रहेको रकमसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।
सो रकम हुण्डीमार्फत् नेपालबाट भारत पठाइएको हुन सक्ने र भुक्तानी गर्न ल्याइएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनीहरूको साथबाट २४ लाख १५ हजार नेपाली रुपैयाँ तथा ४ हजार ९ सय भारतीय रुपैयाँ बरामद भएको छ । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि सुनसरीको इटहरीस्थित क्षेत्रीय राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।