विराटनगर/ एक दिनको बीचमा २ जना सुत्केरीको ज्यान गएपछि विराटनगरस्थित नोबेल अस्पताल विवादमा तानिएको छ ।
पछिल्लो समय पटकपटक सुत्केरीको ज्यान गएको विषयमा अस्पतालमा हंगामा हुने गरेको छ भने अस्पताल प्रशासनले आर्थिक क्षतिपूर्ति भराएर थामथुम बनाउने प्रयास गर्ने गरेको छ ।
सुनसरीको गढी गाउँपालिका ६ की चाँदनी मेहता अघिल्लो हप्ता नोबेल अस्पतालमा भर्ना भइन् । शनिबार बिहान सकुशल नानीलाई जन्म दिएकी उनले सोही दिन दिउँसो ३ बजे अस्पतालमा अन्तिम सास फेरिन् ।
उपचारमा गम्भीर त्रुटि गरेको भन्दै आफन्त आक्रोशित बने । उनीहरूको चित्त बुुझाउन प्रशासनले ५ लाख क्षतिपूर्ति दिने सहमति त ग¥यो तर, उक्त सहमतिबमोजिमको रकम भने दिएन ।
उनको जस्तै घटना भयो धनकुुटा महालक्ष्मी– ४ चानुवाकी निर्मला खड्काको । उनले पनि शुक्रबार छोरीलाई जन्म दिइन । सामान्य अवस्थामा सुत्केरी भएकी खड्काको अकस्मात असामान्य अवस्था आयो भन्दै चिकित्सकले इमेर्जेन्सी अप्रेसन गर्न सुुझाइ अप्रेसन थिएटरमा छिराए । तर, निर्मला स्वस्थ भएर फर्किइनन् । उनी पनि अस्पतालमै सदाका लागि संसारबाट बिदा भइन् ।
२ दिनको फरकमा नोबेल अस्पतालमा भएका यी प्रतिनिधि घटना मात्र हुन् । यसअघि पनि अस्पतालमा सुत्केरी गराउन आएका महिलाको अकालमा ज्यान गएको भन्दै पटक– पटक नोबेल अस्पताल विवादमा आउने गरेको थियो ।
त्यसपछि नोबेल अस्पतालले सामान्य क्षतिपूर्ति भराई विवाद तत्कालका लागि साम्य बनाउने प्रयत्न गर्ने गरेको छ । तर, के कारणले बिरामीको ज्यान गएको हो भन्ने बारेमा गम्भीर बन्ने गरेको छैन ।
निर्मलाका श्रीमान् प्रेम खड्काले चिकित्सकले समयमा नै के भएको भन्ने बारे यकिन जानकारी नदिंदा समस्या बढ्दै गएको र बिरामीको अवस्था सुधार हुनै नसक्ने अवस्थामा पुुगेको गुनासो गरे । ‘सामान्य अवस्थाको बिरामीले मृत्युवरण गर्नुुपर्ला भनेर हामीले सोचेकै थिएनौं,’ उनले भने, ‘अस्पतालको हेलचेक्र्याइँले नै मेरी श्रीमतीको ज्यान गएको हो ।’
नोबेलमा आमा सुरक्षा कार्यक्रम बन्द
सरकारको आमा सुरक्षा सेवा कार्यक्रम सञ्चालन गर्ने अनुमति पाएको नोबेल अस्पतालले सो सेवा आइतबारदेखि पूर्ण रूपमा बन्द भएको जानकारी दिएको छ । सुत्केरीको मृत्युु भइरहेको र सो कुराले अस्पतालमा आन्दोलन भइरहेको भन्दै सञ्चालक सुनिल शर्माले आइतबारदेखि गर्भवती महिलाको भर्ना नलिने निर्णयमा पुगिसकेको बताए ।
‘यो साह्रै अपजसे काम रहेछ’, उनले भने, ‘अब अर्को निर्णय नगरुन्जेल यो सेवा बन्द गरेको छु ।’ शर्माले सरकारी कार्यक्रम घाटामै भए पनि चलाएको तर, सबैतिरबाट गुनासो मात्र आएकाले आफूले चाहेर राम्रो गर्ने प्रयास गर्दा पनि अस्पतालमाथि आक्रमणको प्रयास जारी रहेको बताए ।
‘अस्पतालमा सुत्केरी नगराउँदा हामीलाई केही फरक पर्दैन, अरु नै सेवा सञ्चालन गरेर पनि अस्पताल चलाउन सक्छौं,’ उनले भने । अस्पताल प्रशासनका अनुसार दैनिक औसतमा ५० जना महिला सुत्केरी गराउन सो अस्पताल आउने गर्छन् ।
गाइनो विभागका चार चिकित्सकको राजीनामा
मातृशिशुु विभागमा कार्यरत चार जना चिकित्सकले मंगलबार प्राशासनसमक्ष राजीनामा दिएका छन् । उनीहरुले सुत्केरी गराउन आएका महिलाको ज्यान गएको घटनाले आफूहरू असुरक्षित हुने गरेको भन्दै मंगलबारदेखि अस्पतालको सेवामा उपस्थित नहुने जानकारी दिएको प्रशासकीय अधिकृत दीपेश राईले बताए । उनले चिकित्सकले दिएको राजीनामालाई गम्भीर रूपमा लिइएको भन्दै स्वीकृत नहुन्जेल चिकित्सकको नाम प्रशासनले सार्वजनिक गर्न नमिल्ने जानकारी दिए ।