गाईघाटः उदयपुर जिल्लाको कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीका सवारी साधनमा आगलागी हुँदा ३ करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।
एउटा ट्याङ्करमा सल्किएको आगोले सो ट्याङ्कर र एउटा स्काभेटर जलेर नष्ट हुँदा ३ करोड मूल्यको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार आइतबार राती ११ बजेतिर अचानक ट्याङ्करमा आगलागी भएको थियो । पछि सो आगोले स्काभेटरसमेत जलाएको थियो ।
प्रहरी र स्थानीयवासीसहित कटारी नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो । आगलागी कसरी भयो भन्नेबारे इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान शुरु गरेको छ ।