विराटनगरः विराटनगरमा ७ वर्षपछि सूचना प्रविधि मेला क्यान इन्फोटेक हुने भएको छ ।

यही पुस १९ देखि २३ गतेसम्म क्यान महासङ्घ मोरङले क्यान इन्फोटेक आयोजना गर्ने भएको हो । यसपटकको सुविसु क्यान इन्फोटेक २०१९ प्रदेशस्तरीय हुने आयोजकले जनाएको छ । विराटनगरस्थित जैन भवनमा आयोजना हुने इन्फोटेकमा अवलोकनकर्ताहरूले लक्की ड्रमार्फत् दुबई भ्रमणको ट्रिप समेत जित्न सक्ने बताइएको छ ।

इन्फोटेकमा रोबोकप, ह्याकथुन, पब्जी तथा स्मार्ट सिटी भिडियो प्रतियोगिता हुने आयोजकले जनाएको छ । इन्फोटेकमा इन्टरनेट तथा सफ्टवेयर प्रदायक कम्पनीहरू र शैक्षिक संस्थाहरू पनि सहभागी हुने बताइएको छ ।

इन्टरनेट प्रदायक संस्था सुबिसु मुख्य प्रायोजक रहेको इन्फोटेकमा जेननेक्ष्ट प्लाटिनम स्पोन्सर रहेको छ । टेल्ली, डेल्टा टेक, हाइसेन्स, खल्ती र एक्स्पर्ट एजुकेशनको सहयोग रहेको बताइएको छ ।

प्रदेश सरकार, विराटनगर महानगरपालिका र नेपाल प्रहरीको पनि सहयोग रहेको क्यान मोरङका अध्यक्ष राजन यादवले बताए । यादवका अनुसार २ लाख जना मानिसले इन्फोटेकको अवलोकन गर्ने क्यानको अनुमान छ ।