सुर्खेतः  आइतबार बिहान सुर्खेत वीरेन्द्रनगर ११ झुप्रा खोला नजिक इसुजु डी म्याक्स कम्पनीको गाडी दुर्घटना हुँदा चार जनाको ज्यान गयो । ज्यान गुमाउने चारै जना स्वास्थ्यकर्मी हुन् ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले शनिबार एचएमआइएस, भिएसआइएस, इएलएससम्बन्धी तीन दिने समीक्षा गोष्ठीमा दैलेख र सुर्खेतका स्थानीय तहमा कार्यरत स्वास्थ्य प्रमुखहरूलाई वीरेन्द्रनगर बोलाएको थियो । सोही गोष्ठीमा सहभागी हुन गुराँस गाउँपालिकाका राजेन्द्र बिसी, डुङ्गेश्वर गाउँपालिकाका दीपेन्द्र शाही, भगवतीमाई गाउँपालिकाका बबिन शाही र भैरवी गाउँपालिकाका वीरेन्द्र शाही सुर्खेत आएका थिए । 

शनिबारको गोष्ठी सम्पन्न भएपछि बेलुका भैरवीकै सागर शाहीसँग भेट भयो । धेरै समयपछि भेट भएको भन्दै चारै जनाले खुसी मनाउने निधो गरे । भेरीगंगा नगरपालिका–१ मा रहेको एक कटेजमा रमाइलो गर्ने भन्दै साँझ ६ बजेतिर उनीहरू वीरेन्द्रनगरबाट भेरीगंगा गएका थिए ।  राति अबेरसम्म खान पिन गरेर रातिको करिब १२ बजेतिर पाँचै जना वीरेन्द्रनगरतर्फ फर्कँदै थिए ।

accdent_1


उनीहरू सवार गाडी सागर शाहीले चलाएका थिए । रातिको समय भएको र हुस्सुले सडक ढाकेको थियो । गीतको तालमा गाडीले झुप्रा खोला जाने बाटो क्रस र्गयो । त्यसपछि गाडीले करिब तीन सय मिटर अगाडि पुग्ने बित्तिकै सडक छेउमा निर्माण गरिएको डिभाइडरमा सो गाडी बजारिन पुग्यो ।

त्यति बेलासम्म होसमा थिए वीरेन्द्र शाही । गाडीले ६ वटा डिभाइडर भत्काउँदै सडकभन्दा करिब १० मिटर तल उत्तानो परेर बजारियो । गाडी चालक सागर, राजेन्द्र, दीपेन्द्र र बबिन गम्भीर घाइते भए ।

गम्भीर घाइते वीरेन्द्रले प्रहरीलाई फोन गरे । बिहान करिब साढे २ बजेतिर प्रहरीले उनीहरुरूको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुरायो  । वीरेन्द्र बाहेक अन्य चार जनाको उपचारकै क्रममा ज्यान गयो ।

दुर्घटनामा परी घाइते भएका वीरेन्द्रले भने, ‘‘गाडी स्पिडमा पनि थिएन हुस्सु पनि लागेको थियो, गाडी अगाडि बढ्दै थियो । खै एक्कासि के भयो भयो, गाडी खसेपछि म सडकको छेउमा बजारिन पुगे । जसोतसो गरी उठे र प्रहरीलाई फोन गरे, त्यसपछि मलाई कहाँ के भयो थाहै भएन ।’’ घाइते भएका वीरेन्द्रलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको खबर गोरखापत्र अनलाइनमा प्रकाशित भएको छ ।