भोजपुरः भोजपुर–खोटाङ जोड्ने ४२ किलोमिटरको  मध्यपहाडी लोकमार्गको कालोपत्रेको काम शुरु भएको छ । सडकको स्तरोन्नतिले गति लिएपछि पहिलो प्याकेज अन्तर्गत भोजपुर सदरमुकामदेखि सेरा खोलासम्मको करिब साढे ७ किलोमिटर सडकखण्डमा कालोपत्रे गर्ने काम थालिएको हो ।

राजमार्गको पहिलो र दोस्रो प्याकेजको कालोपत्रे काम ०७६ असोज मसान्तभित्र सम्पन्न हुने आयोजनाले जनाएको छ । भोजपुर र खोटाङको सिमानामा पर्ने चखेवा भञ्जाङसम्मको सो सडकखण्डको कालोपत्रे कामलाई ४ प्याकेजमा विभाजन गरी पहिलो प्याकेज अन्तर्गतको कालोपत्रे शुरु गरिएको निर्माण ठेकेदार कम्पनी गोल्डेन कन्स्ट्रक्सनले जनाएको छ ।

सडकको स्तरोन्नति ०७४ असोज मसान्तबाट शुरु गरिएको हो । ०७६ को असोज मसान्तसम्म पहिलो प्याकेज अन्तर्गत भोजपुर देउरालीदेखि सिद्धेश्वरको सेराखोला (दाँवा) सम्म कालोपत्रे हुनेछ । दोस्रो प्याकेज अन्तर्गतको सेराखोला (दाँवा) देखि गुप्तेश्वरसम्मको सडकखण्ड कालोपत्रे गर्ने लक्ष्य लिएको कन्स्ट्रक्सनका साइट इञ्चार्ज डाङी शेर्पाले बताए ।

‘पहिलो प्याकेज अन्तर्गतको भौतिक संरचना र सब–बेस गर्ने काम सकेपछि कालोपत्रेको काम थालिएको छ,’ शेर्पाले भने, ‘देउरालीदेखि सेरासम्मको प्याकेजमा थालिएको कालोपत्रे आउँदो माघ अन्तिममा सक्ने र आर्थिक वर्ष ०७६÷७७ मा बाँकी सम्पूर्ण प्याकेजका सडकखण्ड कालोपत्रे गरेर सक्ने लक्ष्य लिएका छौँ ।’

सडक कालोपत्रे हुन थालेपछि स्थानीयवासी हर्षित भएका छन् । गाउँमै कालोपत्रे हुन थालेपछि धुलो, धुँवा त परै जाओस् कच्ची सडक हुँदाजस्तो यात्रा गर्न कठिनाइ नहुने भोजपुर नगरपालिका बोखिम दाम्सिङका स्थानीय महेश तामाङले बताए । तामाङले भने, ‘अब गाडीमा आरामले यात्रा गर्न पाइने भइयो । धुवाँ र धुलो खाँदै गाडीमा जिउ नै दुख्ने गरी यात्रा गर्नुपर्ने दिन अब गए ।’

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत २ वर्षको समयावधिमा करिब एक अर्बको लगानीमा कालोपत्रेको काम भइरहेकोे हो । सो मध्यपहाडी लोकमार्गको सडक स्तरोन्नतिको ठेक्का पाएको कम्पनीले देउराली (सदरमुकाम), सेराखोला (दाँवा), सेतीबगर (गुप्तेश्वर) र चखेवाभञ्जाङ गरी चार प्याकेज बनाएर काम गर्ने जनाएको छ ।

इन्चार्ज शेर्पाका अनुसार हाल पहिलो प्याकेजको कालोपत्रे कामबाहेक बाँकी तीन प्याकेजमध्ये दोस्रो प्याकेजमा महावीर कन्स्ट्रक्सनले ग्राभेलिङको काम गर्ने गरिरहेको छ । तेस्रो प्याकेजमा ८० प्रतिशत र चौथो प्याकेजमा ५५ प्रतिशत भौतिक संरचना र पेभमेन्टको काम सम्पन्न हुने बताइएको छ ।

सो सडकखण्डको कालोपत्रे, वालिङ, सोलिङ लगायतको काममा हाल ३ सय ५० जनाको हाराहारीमा कामदार खटिएका छन् । भोजपुर नगरपालिकाको वडा नं ४ सिद्देश्वर र वडा नम्बर ५ बोखिमको सिमानामा रहेको सेरा खोलामा पक्की पुल बनेपछि सवारी साधनलाई सहज भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको कालोपत्रे सम्पन्न भएपछि काठमाडौँ आवतजावतमा दुरी छोटिने हुँदा भोजपुरका साथै सङ्खुवासभा, ताप्लेजुङ र धनकुटाका यात्रुलाई सहज हुनेछ ।