इटहरीः उद्योगी व्यवसायीहरुका हरेक समस्यामा रात दिन नभिन जतिबेला पनि निडर भएर अगाडि उभिँदै आएका अबको तीन दिन पछि हुने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा अध्यक्षका उम्मेदवार जीवन पराजुलीलाई ६ दलले साथ दिने उद्घोष गरेका छन् ।
उद्योगी, व्यवसायीहरूको साझा संस्था उवासंघमा राजनीतिकरण गर्न नहुने, तर विभिन्न दलमा आवद्व व्यवसायीहरूलाई समेटेका कारण पराजुलीलाई साथ दिने घोषणा गरेका हुन् ।
मंगलबार एक कार्यक्रमबीच निर्वाचनका लागि उम्मेदवारहरूको घोषणा गरियो । जसअन्तर्गत नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा नेपालले साथ दिने घोषणा गरेका छन् । यो घोषणासँगै पराजुलीको प्यानलको पल्ला निकै भारी भएको छ ।
राप्रपा सुनसरीका सचिव अनिल सुब्बाले चुनावी प्रक्रियाअन्तर्गत आँफूहरूले पनि भाग लिएको बताए ।
‘हाम्रो पार्टीले सर्वपक्षीय छलफल गरेर को सक्षम छ भनेर विचार गरी जीवन पराजुलीको समूहलाई सघाएको हो,’ सुब्बाले भने, ‘यसअघिको नेतृत्वले धेरै काम गरेपनि प्रचार गरिएन, तर अबको नेतृत्वले कामसँगै प्रचार पनि गर्छ भन्ने विश्वाससहित हामी साथै रहेको उद्घोष गर्दछौँ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश १ का संगठन विभाग प्रमुख चन्द्र राईले एक दल र एक पक्षीय उम्मेदवार नभइ सबै दललाई समेटेर लैजाने पराजुलीको समूहलाई सहयोग गरेको बताए ।
‘व्यवसायिक संस्थामा राजनीतिक दलको हस्तक्षेप हुनुहुँदैन,’ उनले भने, ‘कुनै एक दल र एक पक्षीय उम्मेदवार नभएकै कारण हाम्रो पनि साथ रहेको हो ।’
कार्यक्रममा नेकपा माओबादी प्रदेश १ का नेता जगदीश सापकोटाले आँफूहरूले व्यवसायिक हितमा काम गर्ने नेतृत्व चाहेको र अहिलेका लागि पराजुली सक्षम उम्मेदवार रहेकाले चुनावी गठबन्धन गरेको बताए ।
नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति मणिराम श्रेष्ठले कोही व्यक्ति पनि आफ्नो दम्भमा रहन नहुने तर्क गरे ।
कतिपयले अहिले नकारात्मक प्रचार गरिरहेको भएपनि पराजुलीको समूहले आँफूले गर्ने सकारात्मक कामको प्रचार गर्नुले व्यवसायीको हितमा रहेको बताए ।
कांग्रेस महाधिवेशन प्रतिनिधि विकास केसीले व्यवसायिक संस्थामा राजनीतिकरण गर्न नहुने तर्क गरे । ‘सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी व्यापारीलाई समेटेर जाने सक्षम नेतृत्व चुन्नका लागि अपिल गर्दछु,’ केसीले भने, ‘व्यवसायिक समस्या समाधान गर्नका निम्ति यो टिम सफल हुनेछ भन्ने विश्वास लिएको छु ।’
अध्यक्षका उम्मेदवार पराजुलीले भने आँफू काँधमा जिम्मेवारी लिएर व्यवसायीको हितमा उभिएको बताए ।
‘यसअघि नेतृत्वमा बसेका साथीहरूले एउटै टिममा बसेर पनि काम भएन भनेर प्रचार गरियो,’ पराजुलीले भने, ‘अबको नेतृत्वले सबै समस्याको समाधान गर्छ, अहिले पार्किङको समस्या उठिरहँदा व्यवसायीको पक्षमा बोल्ने कोही छैनन् ।’
उनले स्थानीय सरकार कर मात्रै उठाउने काम गरेको आरोप लगाए । ‘उपमहानगरपालिकालाई खाली कर मात्रै चाहिएको छ, व्यवसायीको समस्यामा बोल्नुपरेकै छैन,‘ उनले भने, ‘अहिले बाटो साँघुरो भयो भनेर पार्किङ हटाइएको छ, समस्याको समाधान छैन ।’
६ लेनको सडक निर्माण भएपनि बाटो साँघुरो देखाउँदै सरकारले व्यवसायीलाई असर पुर्याउने काम गरेको बताए । आँफूले नेतृत्व गरेको अवस्थामा भने जुनसुकै अवस्थामा पनि व्यवसायीको हितमा काम गर्ने उनको प्रतिबद्वता छ ।
कार्यक्रमका सभापति उवासंघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेलले पराजुलीको समूहलाई जिताएमा व्यवसायीको पक्षमा काम हुने दाबी गरे । आँफू नेतृत्वमा रहँदा व्यवसायीका हितमा थुप्रै काम भएको उनले स्मरण गरे ।