भद्रपुरः लिलामीको कानुनी प्रक्रिया सहज नहुँदा जिल्ला डिभिजन वन कार्यालय झापाको दुई कोठामा रक्तचन्दन काठ ताल्चा लगाएर राखिएको ११ वर्ष बितिसकेको छ ।

बेचबिखन गर्न प्रतिबन्ध लगाइएको सो काठ २०६३ र २०६४ सालमा भारतबाट तस्करी भएर नेपाल भित्रिँदा बरामद गरिएको थियो । उक्त रक्तचन्दन १९ हजार ८ सय ३२ किलोग्राम रहेको र प्रचलित मूल्यअनुसार करीब डेढ करोड रुपैयाँको रहेको वन कार्यालयले जनाएको छ । वन कार्यालयको तल्लो तलाको साबिक मुद्दा र प्रशासन फाँट रहेको कोठामा सिलबन्दी गरी ताल्चा लगाएर राखेको सो रक्तचन्दन सुरक्षाका लागि दुई जना कर्मचारी छुट्टै खटाइएको सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बताए ।

बहुमूल्य काठ भएकाले सुरक्षाका लागि २ जना कर्मचारी निरन्तर खटाउन र २ कोठा नै ११ वर्षदेखि सिलबन्दी गरेर राख्नुपर्दा वन कार्यालयले रक्तचन्दनका कारण लामो समयदेखि अतिरिक्त सकस भोग्नु परिरहेको छ । रक्तचन्दन कानुनबमोजिम बेचबिखन, लिलाम र फिर्ता गर्न नसकेर डिभिजन कार्यालयमै थन्किएको उपे्रतीले बताए । वन तथा वातावरण मन्त्रालयमा पटकपटक पत्राचार गरे पनि मन्त्रालयले रक्तचन्दन थन्क्याउने विषयमा हालसम्म कुनै निर्देशन नदिएको उनी बताउँछन् ।

मुद्दा फछ्र्योटमा कठिनाइ
रक्तचन्दन थन्क्याइएको कोठामा पुराना विभिन्न मुद्दाका फाइल थुनिएका छन् । सिलबन्दी खोल्न नमिल्ने भएका कारण भित्रका फाइल हेर्न नपाउँदा ११ वर्षअघिका कतिपय मुद्दा फछ्र्यौट गर्न कठिनाइ भएको बताइएको छ । कार्यालयले सिलबन्दी कोठाको ताला खोलेर भित्रको सरसामान हेर्ने गरेको छैन । उक्त चन्दन कुन अवस्था छ भन्ने यकिनसाथ भन्न पनि गाह्रो रहेको बताइएको छ ।

रक्तचन्दनको ११ वर्षअघि सरकारले तोकेको मूल्य प्रतिकेजी २५ रुपैयाँ रहेको थियो । तर अहिले सो काठको मूल्य बढेर प्रतिकेजी ८ सय रुपैयाँ पुगिसेकेको छ । प्रहरीसहित वन कार्यालयको टोलीले झापाको तत्कालीन टाघनडुब्बा गाविसको विभिन्न वडाबाट २०६३ पुस २ गते तथा २०६४ साउन १२ र १३ गते ११ रक्तचन्दन बरामद गरेको थियो ।