तेस्राे दिन देखि मेलाकाे स्टल खालि गराइँदै । तस्विरः प्रदेश पाेर्टल
विराटनगरः व्यावसायिक हित र स्वतन्त्र प्रतिष्पर्धाका लागि भनेर लगाइएको विराटनगरको विराट एक्स्पो विवादमा तानिएको छ । नेपालको पुरानो व्यापारिक संस्था मोरङ व्यापार सङ्घले लगाएको मेलामा भने स्टल लिइसकेका व्यवसायीको उत्पादन बेच्न आयोजकबाटै प्रतिबन्ध लगाइएको हो ।
मुख्य प्रायोजक रहेको रमपम चाउचाउले अन्य चाउचाउलाई स्टल दिइएको बारेमा असन्तुष्टि व्यक्त गरे पछि पुस ६ गतेदेखि शुरु भएको मेला विवादमा तानिएको हो । रमपमले नुडल्सजन्य उत्पादन मेलाबाट हटाउन आयोजकलाई आइतबार दबाब दिएको थियो ।
विभिन्न कम्पनीका आधा दर्जन नुडल्स कम्पनीले अहिले स्टल खाली गराएका छन् । मेलामा आउन चाहेका अन्य नुडल्स कम्पनीलाई पनि आयोजकले आउन नदिएको व्यवसायी विपिन काब्राले जानकारी दिए । उनले मेलाजस्तो व्यावसायिक हित हुने कार्यक्रममा एक अर्काको उत्पादन बिक्री तथा प्रदर्शन गर्न रोक लगाइनुले आयोजक संस्थामाथि नै प्रश्न उठेको बताए । ‘मेला नै व्यापारीले चलाएको छैन कि भन्ने भान भइरहेको छ,’ उनले भने ।
काब्रा ग्रुप अफ कम्पनीका ब्राण्ड मेनेजर महानन्द सापकोटाले क्वालिटी ग्रुपको उत्पादन रहेको बुलेट चाउचाउ मेलाको पहिलो, दोस्रो र तेस्रो दिन बिक्री र प्रदर्शन गर्न दिइए पनि सोमबारदेखि भने स्टल खाली गर्न निर्देशन आएको गुनासो गरे । कम्पनीले आफ्ना उत्पादनमध्ये साबुनमात्र बिक्रीमा राख्न खोजे पनि आयोजकले ४ स्टल अनिवार्य राख्नुपर्ने भन्दै पूरा रकम तिराएर स्टल बिक्री गराएको बताए ।
पछि चाउचाउ पनि राख्दा ‘मेन स्पोन्सर’ रमपमले झमेला गरेको भन्दै आयोजकले नुडल्सजन्य उत्पादन देख्ने गरी नराख्न भनेको बताए । ‘मेलामा प्रदर्शन र बिक्रीका लागि राखेपछि देख्नेगरी नै राख्नुपर्छ, त्यसो गर्न नपाएपछि यी अहिले गाडीमा राखेर फिर्ता लैजाँदैछौँ ।’ उनले स्टल खाली गराइदिएको जानकारी दिए ।
ठूला व्यवसायीले साना व्यवासायीलाई निरुत्साहित पार्ने काम गरेको भन्दै स्टलमा बसेका व्यवासायी रुष्ट भएका हुन् । २ दिन बेच्न दिइएर सोमबारदेखि नुडल्सजन्य उत्पादनको बिक्री तथा प्रदर्शनमा मेलाभित्रै प्रतिबन्ध लगाइनु व्यवसायीको सिण्डिकेट रहेको अन्य व्यवसायीको आरोप छ ।
आयोजक संस्थाकै एक पदाधिकारीले भने, ‘कि त शुरुमै सम्झौता गर्दा बुझाउनुपथ्र्यो । तर, अहिले आएर स्वदेशी, साना तथा मध्यम वर्गका व्यवसायीलाई निरुत्साहित बनाउने काम व्यवसायमैत्री होइन ।’ उनले मगमग, वाइवाइ र करेन्ट चाउचाउ मेलामा आउन खोजे पनि आयोजकले प्रतिबन्ध लगाएको जानकारी दिए ।
आयोजक संस्थाले भने मेलामा एकाधिकार नलगाएको दाबी गरेको छ । आयोजक संस्थाका एक अधिकारी प्रकाश मुण्दडाले रमपम मुख्य आयोजक भएको हुँदा मेलामा उसको लगानी अनुसारको स्पेस दिइएको जिकिर गरे ।
पुस १४ गतेसम्म चल्ने मेलामा नेपाल, भारत र बङ्गलादेशका उत्पादन प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ । २ सय ३९ स्टल रहेको मेलामा २ लाखले अवलोकन गर्ने र २० करोड बराबरको कारोबार हुने आयोजकको लक्ष्य रहेको छ ।