इटहरीः डेढ वर्ष अघिदेखि इटहरीमा रहेर शेयर ब्रोकरको काम गरिरहेको आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटिज प्रालिको सदस्यता निलम्बन भएको छ ।
शेयर ब्रोकर नम्बर ८ को आशुतोषलाई कर्जा सूचना केन्द्रले पुस ८ गते कालो सूचीमा राखेको थियो । सोही कारण अर्काे निर्णय नभएसम्मको लागि सदस्यता निलम्बन गरी धितोपत्रको कारोबार गर्नबाट आशुतोषलाई रोक लगाइएको नेप्सेले जनाएको छ ।
कालोसूचीमा नाम परेपछि धितोपत्र व्यवसायी नियमावली २०६४ को दफा १८ का आधारमा आशुतोषको शेयर ब्रोकर सदस्यता निलम्बन गरी धितोपत्रको कारोबार गर्नबाट रोक लगाइएको हो ।
सम्झौता अनुसार तोकिएको समयमा बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा भुक्तानी नगर्ने तथा लामो समयसम्म सो कर्जा नतिर्ने व्यक्ति तथा संस्थालाई कर्जादाताको सिफारिशअनुसार कर्जा सूचना केन्द्रले कालो सूचीमा राख्ने गर्दछ ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ को नियम १८ (छ) मा सञ्चालक वा कार्यकारी प्रमुखको अयोग्यता ‘आफू वा आफू सञ्चालक वा कार्यकारी प्रमुख रहेको कम्पनी वा सङ्गठित संस्था साहुको ऋण तिर्न नसकी दामासाहीमा परेको भए ५ वर्ष पूरा भएको र ‘छ’ मा आफू वा आफू सञ्चालक वा कार्यकारी प्रमुख रहेको कम्पनी वा सङ्गठित संस्था कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको अवधिभर अयोग्य हुने व्यवस्था रहेको छ ।
अर्काे निर्णय नभएसम्मका लागि सदस्यता निलम्बन गरी धितोपत्र कारोबार गर्नबाट रोक लगाइएको नेप्सेले जनाएको छ । आशुतोषले इटहरी र काठमाडौंबाट शेयर खरिदबिक्रीको काम गर्दै आएको थियो । आशुतोष कारवाहीमा परेपछि शेयर कारोबारमा मध्यस्थता गर्ने कम्पनी अब इटहरीमा २ वटामात्रै भएका छन् ।