विराटनगर/ सुन र शनम शाक्य हत्या अभियोगका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ ले आफूलाई सुरक्षा चुनौती रहेको बताएपछि उनी बाक्लो सुरक्षा घेरामा बाँधिएर अदालत आउने जाने व्यक्तिको सूचिमा परेका छन् ।

जिल्ला अदालत मोरङमा गोरेसँगको बयान तीनदिनसम्म चलिरहेको अवस्थामा दैनिक उनलाई प्रहरी नायव उपरीक्षक सुरेन्द्र सिटौलाको स्कटिङ्गमा ल्याउने र लाने गरिएको छ ।

बुधबारदेखि सुरु बयान शुक्रबारसम्ममा पनि सकिएको छैन । जिल्ला अदालत मोरङका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमका अनुसार आइतबार पनि बयान जारी रहने छ । अदालतमा गोरेले अहिलेसम्म २७ पृष्ठको बयान लेखाई सकेका छन् । धेरै प्रतिवादी र ठूलो मुद्दा भएका कारण पनि मुख्य अभियुक्तको बयान सकिन धेरै लाग्ने गौतमले बताउनुभयो ।

आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान अभियोगमा गोरेले आफ्नो बचाउमा बयान दिइरहेका छन् । संगठित अपराध निवारण ऐन २०७० अनुसारको कसुर सजाय माग गर्दै ६३ जना प्रतिवादी विरुद्ध बैशाख १९ गते अभियोग दायर गरिएको थियो ।

पक्राउ परेका ३० प्रतिवादी विरुद्ध अदालतले थुनछेक आदेश गरिसकेको छ । दुईजना अभियुक्त अमरबहादुर थापा मगर र बिष्णुबहादुर खड्का बाहेक अन्य २८ जना प्रतिवादी पुर्पक्षका लागि थुनामा रहेका बेला गोरेसँग ती ३० जना प्रतिवादीले लगाएको अभियोग बारे सोधपुछ गरिदैं आएको छ ।

‘मिशिल १५३ पेजको छ, अन्य प्रतिवादीले उमाथि लगाएको अभियोग पढेर सुनाउँदै प्रश्न गर्नुपर्ने हुँदा समय धेरै लागेको हो’ निमित्ति स्रेस्तेदार गौतमले भन्नुभयो–सायद आइतबारसम्ममा सकिन्छ होला ।

बाक्लो सुरक्षाकर्मीको उपस्थितिमा गोरेलाई जिल्ला अदालत ल्याउने र लाने काम भने विराटनगर महानगरपालिका प्रहरी नायव उपरीक्षक सुरेन्द्र सिटौलाको कमाण्डको टोलिले गरिरहेको छ । दैनिक बिहान १० बजेर ३० मिनेट जाँदा अदालतमा पु¥याउने र अपरान्ह प्रहरी कार्यालयमा फर्काउने गरिएको छ ।

यसैबीच हराएको सुनको सुराक बुझ्नका लागि आफ्ना संगठनका सदस्य सनम शाक्यसहित अन्यलाई करेन्ट लगाउनका लागि ब्याट्री दिइएको आरोपमा प्रहरीले अर्का एकजनालाई नियन्त्रणमा लिइएको छ । सहयोगी बनेको आरोपमा मोरङ उर्लावारीका रेवन्त आचार्य रहेका छन् । आचार्य विरुद्ध शुक्रबार नै म्याद थप गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिइएको छ ।