प्रकाश बन्जारा
इटहरीः इटहरीको खाम्दाके यातायात प्रालिका शेयर होल्डर मध्येका एक जना विकास खत्री भनेर चिनिने कृष्ण बहादुर खत्री फरार भएपछि कम्पनीका अन्य शेयर होल्डर बैँकको निशानामा परेका छन् ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १ बस्ने विकास खाम्दाके यातायात प्रालिको ५ जना सेयर सदस्य मध्ये एक हुन । कम्पनीको सेयर होल्डर भएपछि विराटनगरदेखि वीरगञ्ज रुटको को १ ख ६६९१ नम्बरको बस आफ्नै नीजि बनाएर चलाउँदै आएका विकासले गाडीको फाइनान्स भने कम्पनीको नाममा गरेका थिए ।
आफँै चलाउने , नाफा पनि आफैँ खाने र घाटा पनि आफैँ बेहोर्ने शर्तमा गाडी चलाउन थालेका विकासले लामो समय गाडीको आम्दानी लिए तर बैँकको किस्ता भने तिरेनन् । कम्पनीका सेयर होल्डर खगेन्द्र खत्रीले विकासको व्यवहारले आफुहरु आजित भएको बताए ।
प्रदेशपोर्टलसँगको कुराकानीमा खत्रीले शेयर होल्डर बनेका खत्रीले गाडी दुर्घटना भएर कम्पनीलाई हैरान हुँदा समेत फर्केर नआएको सुनाए ।
विकासले चलाउने गरेको खाम्दाके यातायातको गाडी २०७८ साल बैशाख ४ गते उनको गाडी धनुषाको लालगढ भन्ने ठाउँमा दुर्घटना भएको थियो । कम्पनीको नामको गाडी भएको हुँदा खाम्दाकेका अन्य शेयर होल्डरहरुले दुर्घटनाको फायल बनाएर कानुनी प्रावधानहरु पुरा गरेका थिए तर उनिहरुलाई गाडीमा बिमा नविकरण नभएको भन्ने कुरा पछिमात्रै थाहा भयो ।
कम्पनीले दुर्घटना ग्रस्त गाडीको लागि क्षतिपुर्ती र उपचार लगायतका प्रयोजनमा साढे ८ लाख भन्दा बढि रकम खर्च गरिसक्दा पनि विकास भने सम्पर्कमा नआएको अन्य सेयर होल्डरहरु बताउँछन् । दुर्घटना ग्रस्त गाडी अहिले लालगढको बाटोमै अलपत्र भएको सेयरहोल्डरहरुको भनाई छ । दुर्घटनाको फायल ढल्केबर प्रहरीसँग रहेको पाइएको छ ।
गाडी खरिद गरेको कम्पनीले पनि अहिले पैसाको लागि ताकेका गरिरहेको र बैँकले समेत कम्पनीलाई कालो सुचिमा राख्ने खतरा बढेको सेयर होल्डरहरु बताउँछन् ।
यता विकासकी श्रीमति बिष्णु खत्री भने आफ्ना श्रीमान १८ महिनादेखि आफ्नो सम्पर्कमा नरहेको बताएकी छन् । बैँकले घर लिलामी गर्न ताकेता गरिरहेको भएपनि आफ्नो श्रीमान भने आफ्नो सम्पर्कमा नरहेको विष्णुले बताइन । ९० बर्षकी आमा, १७ बर्षको छोरा र श्रीमति छाडेर हिडेका विकास भोजपुर काठमाण्डौको गाडी चलाइरहेको भन्ने खवर आफुहरुले पाएको भएता पनि प्रमाणित भने नभएको खाम्दाकेका अन्य सेयर होल्डरहरु बताउँछन् । बैँक र कम्पनीको ताकेताले हैरान बनाएका उनिहरु अव विकासलाई भेट्नै पर्ने आवश्यकता भएको बताउँछन् ।