इटहरीः इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले भ्रम छरेर व्यक्तिगत रुपमा बदनाम गराउने ढंगले ग्यालेक्सी फोर के टेलिभिजनले समाचार प्रकासन गरेको बताएका छन ।
मंगलबार ग्यालेक्सी फोर के टेलिभिजनमा इटहरी उपमहानगरका नगरप्रमुखको जम्बो सचिवालय टोली रहेको बताउँदै एक भिडियो रिपोर्ट प्रशारण भएपछि मेयर पौडेलले आफ्नो एक जना स्वकीय सचिवबाहेक सचिवालयमा कोही नरहेको र उपमहानगरपालिकालाई चाहिने जनशक्ति विधि, प्रक्रिया र नियम अनुसार राखिएको प्रस्ट पारेका छन् ।
ग्यालेक्सी फोर के टेलिभिजनले मंगलवार साँझ मेयर पौडेलको सचिवालयमा दस जनालाई ऐन–नियम मिचेर मनोमानी ढंगले नियुक्ती गरि आर्थिक भार बढाएको समाचार प्रसारण गरेको थियो । ‘मानिसको प्रतिष्ठाको ख्याल गर्नुपर्छ, एक इन्च पनि विधि, प्रक्रिया र नियम मिछेको छैन,’ उनले फेसबुक लाइफमार्फत प्रस्टयाएका छन, ‘नियम, ऐन मिचेर दस जना सचिवालयमा राखेको पुष्टि गरि दिनुहोस, जस्तोसुकै कारबाही भोग्न पनि तयार छु ।’ पौडेलले भनेका छन् । पौडेलले केही दिनअघि १२ औं नगरसभा स्थगित भएको अवस्थामा १३६ औं नगरसभा स्थगीत भनी समाचार प्रसारण गरिएको र प्रसारण गरिएका कुनै पनि कुरा सत्य तथ्य नभएको प्रस्ट्याएका छन् ।
‘ग्यालेक्सी फोर केमा प्रसारण भएको समाचारको विषयमा प्रमाणसहित जस्तो सुकै खुल्ला बहस गर्न तयार छु,’ उनले फेसबुक लाइभमा भनेका छन, ‘समाचार पत्रकारिताको आधारभूत सिद्दान्तलाई समेत ख्याल नगरि बिना सन्तुलन मनोमानी ढंगले प्रसारण भएको छ, सत्य र तथ्यका आधारमा पत्रकारिता गर्न मेरो अनुरोध छ।’ स्थानीय सरकारले स्थानीय आवश्यकताको पहिचान अनुसार सोही अनुसारको जनशक्ति र विज्ञ राख्न सक्ने पौडेलको स्परोक्ति थियो ।
‘जे जे भएको छ, ती सवै कुरा कार्यपालिकाबाट निर्णय भएका छन, मेयरप्रति राजनीतिक आधारमा पूर्वाग्राही भएर समाचार प्रसारण गरिएको छ,’ मेयर पौडेलले फेसबुक लाइभमा भनेका छन् ।
यस्तै बिहिबार इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले एक बिज्ञप्ती जारी गर्दै समाचारमा उल्लेख भएजस्तो नगरप्रमुखको सचिवालयमा जम्बो टोली नभएको उल्लेख गरेका छन् । नगरप्रमुखको सचिवालयमा एक जना मात्रै कर्मचारी रहेको र बाँकी कर्मचारी नगरपालिकाको काम र नगरको विकासको लागि रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।