इटहरीः विराटनगरको तुलसी सहकारीका तीन जना सञ्चालक पुर्पक्षका लागि जेल चलान भएका छन् ।
ठगी मुद्दामा पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले शुक्रवार पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो ।
मोरङ अदालतका न्यायाधीश प्रकाश कोइरालाको इजालशले प्रतिवादीहरूलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले मंगबार पक्राउ परेका तीन जना र सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना सञ्चालकहरू विरुद्ध ठगी मुद्दा दायर गरेको थियो ।
फरार सूचीमा प्रतिवादी बनाएर सहकारीका अध्यक्ष शर्मा, सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा, पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई ठगीमा मुद्दा दायर गरेको थियो । पक्राउ परेको हकमा अदालतले आदेश गरेको हो ।
सहकारीका अध्यक्ष शर्मासहित सञ्चालक र प्रबन्धकहरूले ६७ करोड ७६ लाख २१ हजार २६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ । जसमध्ये मोरङ प्रहरीमा १ हजार ३ सय ७ जनाले दिएको उजुरीको आधारमा मात्र ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ ठगी गरेको देखिएको छ ।