धनुषाः धनुषा प्रहरीले अनलाइन ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पत्रकार सम्मेलमार्फत पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा धनुषाको विदेह नगरपालिका वडा नम्बर–१ बस्ने ४० वर्षीय सञ्जीव भिनवार यादव, कमला नगरपालिका वडा नम्बर–३ लग्मा बस्ने २५ वर्षीय रञ्जीत नुनिया, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ बस्ने ३३ वर्षीय अंदेश महतो, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ बस्ने ३३ वर्षीय पप्पु पूर्वे, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ बस्ने ४८ वर्षीय उसवान साफी र २० वर्षीय मोहम्मद जिलानी साफी रहेका छन् ।

गत बैशाख ८ गते साँझ करिब ५ बजे ४ जनालाई धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर–३ महुवाटोलबाट र दुईजनालाई जनकपुरधाम–१२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

पक्राउ परेका उनीहरुको साथबाट ६ थान एन्ड्रोइड मोबाइल र एकथान फिचर फोन गरी जम्मा ७ थान मोबाइल र नगद २९ हजार ५७६ रुपैयाँ बरामद गरी थप अनुसन्धान गर्दा उनीहरुले टलविन लाइफ नामक एक अमेरीकी संस्थामार्फत ठगी गरेको कुरा खुलेको एसपी खड्काले बताए । उनीहरुले १ हजार ९१ जना पीडितहरुबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ४ हजार ५ सयका दरले ४९ लाख ९ हजार ५ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

एसपी खड्काले भने, ‘उनीहरुले टलविन लाइफमा खाता खोल्न इन्टरनेट ब्राउजरको प्रयोग गरी आफ्नो युजर एकाउण्ट खोल्न सकिने र सो एकाउण्ट खोल्न कम्तिमा ३० अमेरिकी डलर आवश्यक पर्ने भन्दै विभिन्न व्यक्तिलाई प्रलोभन दिएका थिए । टलविनको एकाउण्टमा पैसा लोड गर्न बाइनान्स एप्लिकेशनको मद्दतबाट नेपाली पैसालाई अमेरिकी डलरमा रुपान्तर गरी टलविन लाइफको एकाउण्टमा पैसा लोड गर्न सकिने र टलविन लाइफको एकाउण्टबाट डबल पैसा बाइनेन एप्लिकेशनको एकाउण्टमा लोड गरेर नेपाली पैसामा रुपान्तरण गरी बैंक एकाउण्ट तथा विभिन्न अनलाइन वालेटमा हाल्न सकिन्छ भन्दै उनीहरुले ठगी गरेको देखिन्छ ।’

उनीहरुले ४ हजार ५ सय अमेरीकी संस्था टलविन लाइफमा लगानी गर्दा ३ बर्षमा २ लाख १४ हजार रुपैयाँ पाउन सकिने र त्यसका अलवा टलविन लाइफ नामक संस्थाम आफूमार्फत प्रत्यक्ष सदस्य बनाएमा लगानीको ५० प्रतिशत कमिशन पाउने भनी ठगी गरेको र आफूले बनाएको सदस्यले थप सदस्य बनाउँदै जाँदा एक डलर आफ्नो खातामा आउने भन्ने प्रलोभन दिएर ठगी गरेको एसपी खड्काले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई ठगी मुद्दामा म्याद थप गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।