चितवनः शंकर कँडेल न्यायिक संघर्ष समितिले आह्वान गरेको चितवन बन्दको कारण शनिबार चितवनको जनजीवन दिनभर अस्तव्यस्त बन्यो । 

बन्दका कारण लामो दुरीका गाडी सञ्चालनमा आउन सकेनन् भने छोटो दुरीका गाडी पनि सहज रुपमा चल्न नसक्दा यातायात क्षेत्र लगभग ठप्प नै रहयो । बन्दकर्ताले पुलचोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा जम्मा भएर गाडी चलाउनमा रोक लगाएका थिए । 

मोटरसाइकल चढेर हिँडेका बन्दकर्ताले चितवनको विभिन्न स्थानमा पुगेर बन्द गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । 

लामो दुरीका गाडीहरु ठाउँ–ठाउँमा रोकिएको र बन्दकर्ताहरु एकै ठाउँमा नभइ बिभिन्न ठाउँमा बसेर सवारी चलाउन रोक लगाउँदा मुग्लिनमा गाडीको लामो लाइन लागेको चितवन ट्राफिकको भनाइ छ । 

 बन्दकर्ताले कुनै गाडीमा तोडफोड भने नगरेको चितवन ट्राफिकले जनाएको छ । पोल्ट्री व्यवसायी एवं नेपाली काँग्रेसका महासमिति सदस्य कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने मुख्य व्यक्ति प्रदीप रुङ्गटा पक्राउ नपरेको भन्दै संघर्ष समितिले शनिबार चितवन बन्दको आह्वान गरेको हो ।