इटहरीः ‘बाइकमा ३ जना चढेको देखेर ट्राफिक प्रहरीले रोक्न खोज्दा भागेर कलेज पुगेको युवा बहादुरी गरेजस्तो गरेर साथीहरूलाई आफ्नो बहादुरी सुनाउँछ ।’

इमान्दारिता विषयमा शुक्रबार बोल्दै इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले यस्तो दुःखेसो गरे । उनले यसमा थपे, ‘यसो गरेर कुदाउँदा दुर्घटना भएर चोट लाग्यो भने ठूलो ब्यान्डेज लाएर शानसँग एक्सिडेन्ट भयो भन्दै हिँड्छ ।’

इटहरीको सेन्ट्रल प्लाजामा रहेको होटल बरण्डामा अकाउन्ट्याबिलिटी ल्याबको इमानदारिता विषयमा प्यानल डिस्कसनमा सहभागी डिएसपीले युवाहरूसँगै अभिभावकहरूको पनि समस्या देखाए । ‘एउटा प्रहरी अधिकारीले वर्षौ गरेर कमाएको भन्दा एउटा गुण्डाले दादागिरी गरेर केही वर्षमा कमाएको धेरै हुन्छ’, डिएसपीले भने, ‘इमानदारिता नहेरेर पैसा र सम्पत्ति मात्रै हैर्ने केही अभिभावकहरू पनि छन् ।’ समाजमा युवाहरूसँगै अभिभावकहरूमा पनि इमानदारिता क्रमशः घट्दै गएको डिएसपीले प्यानल डिस्कसनमा बताए । उनले प्रश्न गरे, ‘अभिभावकहरूले सन्तानलाई प्रहरी बनाउनभन्दा गुण्डा बनाउन फाइदा किन देख्छन् ?’

इटहरीवासी चिन्तक मोहन तिम्सिना, पत्रकार तथा कवि विराट अनुपमसँगै इमानदारिता विषयमा सम्राट थापाको प्रश्नको जवाफ दिँदै डिएसपी श्रेष्ठले इमानदारिता हराउँदै गए पनि इमानदारहरू अझै धेरै सङ्ख्यामा भएको बताए । इटहरीमा २ लाख ५० हजार हाराहारीको जनसङ्ख्यामा ७५ जना हाराहारी मात्रै आपराधिक मानसिकताकाहरू भएको उनले बताए ।

ती आपराधिक मानसिकता भएका र पूरा इमानदारिता गुमाएकाहरूको निगरानी गरेकैले इटहरीमा सुरक्षा समस्या धेरै नभएको डिएसपी श्रेष्ठले बताए । उनले भने, ‘धेरै इमानहरू भए पनि क्रमशः इमानदारिता हराउँदै गएको छ । यो जोगाउने युवाहरूको र हाम्रो समाजको दायित्व हो ।’

अर्का प्यानलिस्ट मोहन तिम्सिनाले समाजमा सहयोगी भावना भएका र इमानदारिता गुमाएका दुवै देखिएको बताए । उनले भने, ‘भ्रष्टाचार गरेको भन्दै रङ्गेहात पक्राउ भएका समाचार पनि दैनिक रूपमा अखबारमा समाचार आउँछन् । समस्यामा परेकाहरूको लागि सहयोग गरेका समाचार पनि आउँछन् ।’ समाजमा इमानदारिता हुनु÷ नहुनुमा समाजको चेतनास्तर र चिन्तनले निर्धारण गर्ने तिम्सिनाले बताए ।

प्यानलिस्ट विराट अनुपमले इमानदारिता पनि सापेक्ष हुने बताए । नेपालका भ्रष्ट कर्मचारी दातृ निकायमा उत्कृष्ट बन्ने र नेपालमा इमानदार नहुनेहरू नेपाल बाहिर भने इमानदार भएको देखिएको अनुपमले बताए । ‘नेपालभित्र एक नेपालीको व्यवहार र दशगजा अनि अन्तर्राष्ट्रिय विमानस्थल कटेपछिको व्यवहारमा धेरै परिवर्तन हुन्छ’, उनले प्रश्न गरे, ‘देशमा हुँदा इमानदार नहुने तर विदेशमा इमानदार हुन कुन कुराले भूमिका खेल्दैछ ?’