इटहरीः नागरिक– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इटहरीमा भएको सार्वजनिक सुनुवाइमा प्रहरीले नगरिकलाई पर्याप्त सूचना उपलब्ध गराउन आग्रह गरेको छ ।
हिजोको दिनमा जस्तो नागरिकसँग दूरी राखेर ‘पुलिसिङ’ गर्ने समय नभएको भन्दै शान्ति सुरक्षा निर्माण गर्न नागरिकको प्रत्यक्ष उपस्थिति आवश्यक रहेको कार्यक्रममा उल्लेख गरिएको छ ।
आइतबार इटहरीमा सामुदायिक प्रहरी साझेदारी अन्तर्गत नगरपालिकास्तरीय समितिले गरेको कार्यक्रममा इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधि र प्रहरीलाई शान्ति सुरक्षासँग सम्बन्धित प्रश्न सोधियो । नागरिकले प्रहरीले प्राप्त गरेका सेवा सुविधाका बारेमा जिज्ञासा राखेका थिए भने प्रहरीको सेवा अझै प्रभावकारी ढङ्गले अघि बढाउन सुझाव समेत दिएका थिए ।
जवाफमा जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले प्रहरी पनि समुदायकै नागरिक रहेको हुँदा मानवीय त्रुटि हुन सक्ने भन्दै भरसक नागरिकको हित हुने खालको काममा चौबिसै घण्टा जुटिरहने बताए । उनले प्रहरी अर्को ग्रहको प्राणी नभएको भन्दै जति बढी नागरिकका सूचना आउँछन्, त्यति नै बढी अपराध न्यूनीकरण गर्न सघाउ पुग्ने विचार व्यक्त गरे ।
‘सीमित स्रोत र साधनको उपलब्धतामा नेपाल प्रहरी बदलिँदो समयसँग जुधिरहेको छ,’ एसपी अधिकारीले भने, ‘समय सापेक्ष भएर लड्न तपार्इं जनताको साथ हाम्रा लागि अनिवार्य छ ।’
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी शिवकुमार श्रेष्ठले सामान्यदेखि जटिल घटनामा सानो सूचनाको अभावका कारण अनुसन्धान लम्बिने र त्यसले अन्य सुरक्षा जटिलतामा चुनौती थप्ने बताए । उनले प्रविधिको उपयोग गर्ने जो कोही व्यक्तिले सावधानीका लागि सहज पहुँच भेटे पनि उपयोग नगरेको तर्क गरे ।
‘केही अनुसन्धालाई केलाउँदा पब्लिकले ध्यान पु¥याउन सक्ने सामान्य विषय पनि ख्याल नगरेको पाइयो,’ उनले भने, ‘जसका कारण दोषी उम्किन सफल भइरहेको छ ।’ श्रेष्ठले बजार क्षेत्रलाई सुरक्षित बनाउन सम्पूर्ण पक्षको ध्यान पुग्नुपर्ने बताए ।
कार्यक्रममा सहभागी धेरैले इटहरीको बसपार्क क्षेत्रमा गुण्डागर्दी मौलाएको बारे ध्यानाकर्षण गराएका थिए । प्रतिउत्तरमा श्रेष्ठले त्यस्ता गलत र अनुचित क्रियाकलाप गर्नेको सूचना दिन आग्रह गरे । ‘हामी गलत कार्य गर्ने कुनै पनि व्यक्तिलाई छाड्दैनौँ । भ्याएसम्म सूचना उपलब्ध गराइदिनु होला,’ उनले भने ।
इटहरी क्षेत्रमा हुने लागूऔषध प्रयोग र कारोबारको विषयलाई धेरैले गम्भीरताका साथ उठाएका थिए । उनीहरूले युवाको बढ्दो लागूऔषधप्रेमलाई निर्मुल पार्न प्रहरी र स्थानीय सरकारलाई कार्यक्रम ल्याउन आग्रह गरेका थिए । त्यसैगरी लागूऔषधको कारोबारीलाई पत्ता लगाई कारवाही गर्न आवाज उठाएका थिए ।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बुधबारे हटियामा हुने सुरक्षा चुनौती र नापतौलमा ठगिने घटनाको विषयमा नगरको ध्यानाकर्षण भएको बताइन् । उनले अत्याधुनिक हटिया बन्न लागेको जानकारी दिँदे नापतौलमा ठगिने विषयमा नियमित अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
नगर प्रमुख द्वरिकलाल चौधरीले नगरको शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको साझेदारी आवश्य रहेको भन्दै नागरिक– प्रहरी साझेदारी कार्यक्रमले शान्ति स्थापना गर्न सघाउ पु¥याउने तर्क गरे । जनप्रतिनिधिको तर्फबाट अपराध न्यूनीकरण गर्न खेल्नुपर्ने भूमिकामा पछि नहट्नै भन्दै उनले सबै पक्षको आ–आफ्नो जिम्मेवारी ठानेर सबै सुरक्षित रहने वातावरण निर्माण गर्न आग्रह गरे ।