इटहरीः केही समयअगाडि धरानको महेन्द्र बहुमुखी क्याम्पसमा देखिएको जग्गाको मोहीको समस्या इटहरीका जग्गामा पनि देखिएको छ । इटहरीमा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय भएको भवनमै मोहियानी समस्या देखिएको हो ।

इटहरी पश्चिम लाइनमा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयको नाममा रहेको १ कठ्ठा जग्गामा मोहीको समस्या रहेको छ । रिजाल एण्ड कम्पनीको नाममा रहेको जग्गाबाट तत्कालीन राजमार्ग ट्राफिक कार्यालयको नाममा आएको उक्त जग्गामा स्वर्गीय हेदालु चौधरीको नाममा मोही देखिएको हो ।

मालपोत कार्यालय सुनसरीको अभिलेख अनुसार इटहरी ५ घ कित्ता नम्बर ६२६ मा १ कठ्ठा जग्गा रहेको छ । कार्यालयको अभिलेख अनुसार ट्राफिक कार्यालयको नाममा आउनु अगाडि नै सो जग्गामा मोही रहेको थियो । कार्यालयको फिल्ड बुकअनुसार रिजाल एण्ड कम्पनीको १७ कठ्ठाबाट ट्राफिक कार्यालयको नाममा जग्गा आएको देखिन्छ । १७ कठ्ठा साढे ७ धुरबाटै मोहीको नाम नकटाई ट्राफिकको नाममा सो जग्गा गएको देखिन्छ ।

मोही हेदालु चौधरीको मृत्यु भइसकेको छ । उनको मृत्युपछि उनका एक मात्र हकदारको रूपमा अहिले उनका छोरा हलखोरी चौधरीले मोही नामसारीको लागि जिल्ला भूमिसुधार कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

भूमिसुधार कार्यालयमा २०७५ साउन २३ गते हलखोर चौधरीले मिसिल नम्बर २ सय ८९ मा मुद्दा दर्ता गराउँदै मोही नामसारीको लागि अपिल गरेका हुन् । आफ्नो बाबुको मृत्युपछि हकभोग गर्ने आफू एक्लो भएको दाबी प्रमाणसहित हलाखोरी चौधरीले मोही दाबी गरेका छन् ।

एक्लो हकदार भए पनि कार्यालयले मोही नामसारी गर्न आलटाल गरेको भन्दै उजुरी दर्ता गराइएको छ । ‘ट्राफिक कार्यालयले नामसारी गर्न अटेर गरेपछि उजुरी गर्न आएको छु’ उजुरीलाई उद्धृत गर्दै भूमिसुधार कार्यालय स्रोत भन्छ, ‘उल्लेखित विवरण र संलग्न फिल्डबुकमा भएको नामको आधारमा बुवाको नामबाट आफ्नो नाममा मोही नामसारी गरिदिनु हुन अनुरोध छ ।’

उजुरीमा इटहरी वडा नम्बर ५ का वडाध्यक्ष कल्याणबहादुर कार्कीले हस्ताक्षर गरेको मोही सिफारिश, जग्गा स्रेस्ताको फोटोकपी तत्कालीन फिल्डले जोताहा प्रमाणित गरेको प्रतिलिपि समेत संलग्न रहेको छ ।

ट्राफिक प्रहरी कार्यालय भने तत्काल मोहियानीको विषयमा बोलेको छैन । आफ्नो नाममा रहेको १ कट्ठा जग्गासहित रिजाल एण्ड कम्पनीको जग्गामा ट्राफिक बसेको देखिन्छ । मोहीको बारेमा बुझ्न खोज्दा प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता कृष्ण प्रसाईंले यस बारेमा अहिले जानकरी नभएको र फिल्डमा भएकाले पछि कुरा गर्ने बताए ।