Photo: Miss Itahari Purwanchal 2017

इटहरी/ विवादित बन्दै आएको मिस सुनसरी प्रतियोगिताका सहभागीहरूले कार्यक्रम छोड्दै गएको र प्रायोजकले समेत कार्यक्रममा लगानी नगर्ने भएपछि मिस सुनसरी कार्यक्रम नै संकटमा परेको छ ।

यसअघि केही सहभागीले यौन हिंसामा आफू परेको भन्दै कार्यक्रम छाडेर मिडियामा आफ्नो गुनासो गरेपछि सो प्रतियोगिताको विवाद बाहिर आएका थियो । कार्यक्रम संकटमा परेपछि सहभागीको लाखांै रकम जोखिममा परेको हो । पुरस्कार पाउने तथा ताज पहिरिन पाउने आशामा कार्यक्रममा सहभागी युवतीले एकाएक प्रतियोगिता छाड्न थालेका हुन् ।

जेठ २२ गते २१ जनाले अडिसन दिएकोमा १८ जना मात्र क्लोज क्याम्पमा पुगेका थिए । सहभागीका अनुसार कार्यक्रमको शुरुमा फर्म भर्दा १ हजार र छनोट भएपछि प्रतिसहभागी १५ हजार आयोजकले लिएको देखिन्छ । यसरी प्रतिष्पर्धीबाट लिएको करिब २ लाख ४० हजार रकम अहिले जोखिममा परेको हो ।

आयोजक संस्थाका अमित पौडेलले युवतीहरूलाई छोटा कपडा लगाएर जबरजस्ती एक्सपोज हुन लगाएको विषय सार्वजनिक भएपछि कार्यक्रम विवादमा तानिएको हो । लेडी जेसीज इटहरीको सहकार्यमा पल इन्टरटेन्टमेन्टले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिताबाट सहभागी हुने प्रतिष्पर्धी बाहिरिने क्रम बढेपछि प्रायोजकहरूले समेत कार्यक्रमबाट हात झिक्ने संकेत दिएका छन् । केहीले प्रायोजन गर्न आनाकानी गरेको जानकारी प्राप्त भएको छ । आर्थिक अभाव भएपछि खर्च जुटाउन कार्यक्रमको मिति सरिरहेको छ । सरेको मितिमा पनि कार्यक्रम हुने÷ नहुने टुंगो छैन ।

तालिम पनि रोकियो
आर्थिक समस्या तथा चौतर्फी आलोचनापछि सहभागीलाई प्रशिक्षणको काम पनि तत्कालको लागि स्थगित गरिएको छ । ‘अहिलेको कार्यक्रमको तयारीमा अलि समय लाग्ने भयो फिनाले सरेको छ है भनेर फोन गर्नुभएको थियो,’ एक सहभागीले भनिन, ‘फिनाले सरेको छ तर किन स¥यो भनेर चाहिँ स्पष्ट कुरा आएको छैन ।’

फिनाले सर्ने भन्ने खबरले खर्च बढ्ने र सबै तिरबाट प्रश्न आएर टर्चर बढ्ने भएकाले अहिले सहभागी भएका अरु धेरैले तालिम छाड्ने सम्भावना रहेको एक सहभागीले बताइन् ।

तालिममा सहभागीलाई अनावश्यक नङ्ग्याउन खोजेको र बौद्धिक कार्यको प्रशिक्षणमा भने कम ध्यान दिएको एक सहभागीले बताइन् । ‘आयोजकले पैसाको विषयमा बारम्बार दबाब दिने गरेको थियो,’ उनले भनिन, ‘बौद्धिक मापनको काम कम र शारीरिक रूपमा नङ्ग्याउने विषय बढी भएकाले कार्यक्रम विवादित बनेको हो ।’