धरानः मोटरसाइकलसहित मोबाइल र नगद लुटपाट गर्ने एक गिरोहलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा धरान–१९ का ङिमा ओङ्जु शोर्पा र धरान–१६ का विनोद लिम्बूसहित ५ जना रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए । मोबाइलको कल डिटेलका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ ।
उनीहरूले धरान–१७ स्थित सर्दू खोलामा मङ्सिर २७ गते सुनसरीको कोशी गाउँपालिका–६ का बेचन मियाको को २ प ७६२० नम्बरको मोटरसाइकल, एक थान मोबाइल र एक हजार ३ सय रुपैयाँ नगद लुटपाट गरेको प्रहरीले जनाएको छ । भारत अररिया बस्मतियाका सबुर मन्सुरीले बोकेको एक थान मोबाइलसमेत लुटपाट गरेको उजुरी परेको थियो ।
लुटपाटपछि सो मोबाइल धरान–१५ का दिपेश परियारलाई बेचेको पत्ता लागेपछि प्रहरीले पुस १६ गते परियारलाई नियन्त्रणमा लिएर चोरीको मोबाइल बरामद गरेको प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताए ।
चोरी गरेको मोटरसाइकलको पाटपुर्जा खोलेर धरान–१० का लडन अन्सारीको मोटरसाइकल ग्यारेजमा दिएका थिए । उक्त ग्यारेजबाट इञ्जिन बरामद गरिएको र अन्य पार्टपूर्जा भने धरान–१२ स्थित महेश बिकको न्यू पाथीभरा वर्कसपमा फेला पारिएको बताइएको छ ।
पक्राउ परेकालाई अदालतमा म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।