इलामः आज इलाममा लगानी सम्मेलन हुँदैछ । देशमै पहिलो पटक स्थानीय सरकारले आयोजना गरेको यो सम्मेलनमा स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गरी पूँजी भित्र्याउने योजना रहेको सम्मेलन आयोजक समितिका सदस्य कृष्ण साह बताउँछन् ।

‘इलाम आफैँ पनि समृद्ध छ । यहाँको २ पोइन्ट ९ दशमलव जनसङ्ख्या मात्रै गरिबीको रेखामुनि रहेको छ’ साहले भने, ‘हाम्रो (इलामको) पूँजीलाई तपाईंहरुको नेतृत्वमा परिचालन गर्नुहोस् भनी ठूला लगानीकर्तालाई भन्छौं ।’

प्रदेश १ भित्रका सम्भावित लगानीकर्तालाई आयोजकले आमन्त्रण गरेको उनले बताए । विभिन्न जिल्ला र नगरबाट उद्योग वाणिज्य सङ्घको नेतृत्वमा लगानीकर्ताहरू आउने उनको भनाइ छ । हामीसँग भएको पूँजीलाई सदुपयोग गरी इलाममा लगानी गरौं भन्ने आग्रह आयोजकको भएको उनले बताए ।

इलाम नगरपालिकाले पारित गरेका २ वटा नीतिको अधीनमा रही लगानी गर्न आग्रह गरिने उनले बताए । औद्योगिक घरानालाई नयाँ उद्योग स्थापनामा सहजीकरण तथा जिल्लामा सञ्चालित साना तथा मझौला उद्योगको प्रवद्र्धनको लागि लगानी गर्न आह्वान गरिने उनको भनाइ छ । लगानी भित्र्याउन २५ वर्षको लागि पर्ती जग्गा लिजमा दिने तथा राजस्वमा ५० प्रतिशत छुट दिने लगायतका कार्यक्रम अघि सारिएको उनको भनाइ छ ।

नगरपालिकाले लगानी डेस्क नै सञ्चालन गर्ने तयारी गरिरहेको पनि उनले जनाए । सम्मेलनपूर्वको छलफलको क्रममा धेरै लगानीकर्ता लगानीको लागि इच्छुक देखिएको साहले बताए । सम्मेलनमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका प्रमुख सहभागी हुने र आफ्नो धारणा राख्ने हुनाले सम्मेलन सफल हुने र इलाममा लगानी भित्रिने विश्वास आयोजकको रहेको उनले बताए ।