खोटाङः खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाको बचत ठगी सम्वन्धी कसुरमा ३५ प्रतिवादी बिरुद्ध जिल्ला अदालतमा अभियोग–पत्र दायर भएको छ । बचतकर्ताको लगानी अपचलन भएको बिषयमा सहकारीका वर्तमान तथा निवर्तमान सञ्चालक समिति, सहकारीका तत्कालिन अध्यक्ष अनिल जोशी (मृतक) तथा उनका परिवार, सहकारीका प्रवन्धक, लेखापाल र ऋणी बिरुद्ध जिल्ला अदालतमा मंसिर १३ गते अभियोग–पत्र दायर भएको हो । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम प्रतिवादी बिरुद्ध अभियोग–पत्र दायर भएको जिल्ला अदालत खोटाङका श्रेष्तेदार सीताराम खड्काले बताए ।

सहकारीका २६५ बचतकर्ताले ३५ प्रतिबादीबाट ४ करोड ४० लाख ६१ हजार १८ रुपैयाँ बिगो माग दावी गरेका छन् । अभियोग–पत्र पेश भएसँगै बिहिबारदेखि नौ जना प्रतिवादीको बयान सुरु गरिएको अदालतले जनाएको छ । ‘प्रतिवादीको बयान सकिएपछि बहस हुन्छ । त्यसपछि अदालतको निर्णय आउँछ,’ श्रेष्तेदार खड्काले भने, ‘अदालतबाट प्रतिवादीलाई थुनामा पठाउने, तारिखमा छोड्ने वा धरौटी लिनेमध्ये कुनै एउटा निर्णय आउँछ ।’ बचतकर्ताले आठ सयदेखि ५५ लाखसम्म बचत फिर्ताका लागि निबेदन दिएको प्रहरीले जनाएको छ । बचत डुबाइदिएको भन्दै बचतकर्ताले पहिलोपल्ट २०७९ फागुन २ गते सहकारीका अध्यक्ष जोशीको परिवारका पाँच सदस्यसहित आठ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । केही समयअघि सञ्चालक र केही ऋणी बिरुद्ध पनि बचतर्कर्ताले जाहेरी दिएका हुन् ।

सयौं बचतकर्ताको लगानी डुबाएको भन्दै जाहेरी परेपछि सहकारीको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई प्रहरीले कात्तिक १२ गते पक्राउ गरेको थियो । यस्तै, सहकारीका अध्यक्ष जोशीका भाइ सुनिल जोशी र सुनिलकी श्रीमती रविना श्रेष्ठलाई गत असोज १३ गते तथा तत्कालिन प्रबन्धक रुकु जोशीलाई असोज १७ गते काठमाडौँबाट पक्राउ गरिएको थियो । अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौं ऋण लगेको तर फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदा पौडेललाई गत कात्तिक १५ गते चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अन्य २६ प्रतिवादी भने फरार सूचीमा छन् ।

२०७२ मंसिर १० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो । जोशीको कोभिड–१९ को संक्रमणका कारण २०७८ बैसाख १५ गते पोखरामा निधन भएको थियो । उनको निधनपछि निक्षेपकर्ताहरु निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोवार तथा हिसाव हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो । जोशीको निधनपछि २०७८ बैसाख १६ गतेदेखि सहकारीको कारोबार ठप्प छ ।

प्रहरीका अनुसार सहकारीबाट ५९ वटा खातामा ४ करोड ४७ लाख ६ हजार ९६७ रुपैयाँ ऋण प्रवाह भएको पाइएको छ । सहकारीबाट ऋणीलाई २५ हजारदेखि ९९ लाखसम्म ऋण दिइएको देखिएको छ । त्यसमध्ये २४ जनालाई सहकारीको नियम मिचेर ऋण प्रवाह गरेको पाइएको छ । चार जनालाई तमसुक बिनै ऋण दिएको पाइएको छ । सहकारीको नियम मिचेर मनोमानी गरेकै कारण सहकारी संकटमा फसेको देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक बेनु कार्कीले बताए । सहकारीको निक्षेप ४ करोड ४७ लाख ५७ हजार २२१, शेयर पुँजी ५१ लाख १४ हजार ७८१, जगेडा कोषमा १९ लाख ५८ हजार ४९२ र संस्थागत कोषमा २४ लाख ८६ हजार ५६४ रुपैयाँ देखिन्छ । यस्तै, ४ करोड ९० लाख ९७ हजार ३९३ रुपैयाँ तिर्नु पर्ने देखिएको छ । वित्तीय अवस्था हेर्दा सहकारी ‘डुबेको’ अवस्था भने नदेखिएको प्रहरी निरिक्षक कार्कीले बताए ।

सहकारीको नाममा हलेसीमा ४८ लाखमा खरिद गरिएको ६ रोपनी ३ आना १ पैसा १ दाम ९दुई कित्ता० जग्गा अध्यक्ष जोशीको भाईको नाममा पास गरेको पाइएको छ । सहकारीको नाममा जग्गा किन्ने निर्णय गरेर व्यक्तिको नाममा पास गरेको पाइएको प्रहरीले जनाएको छ । तत्कालिन व्यवस्थापक जोशीको नाममा राखिएको बाम्राङको १६ रोपनी ९तीन कित्ता० जग्गा सहकारीको नाममा ल्याइसकिएको पाइएको छ ।

बचत अपचलनका कारण लगानी डुबेको भन्दै बचतकर्ता चरणवद्ध आन्दोलनमा छन् । डुबेको सावाँ र व्याज फिर्ता लिनका लागि बचतकर्ताले पदमकुमारी सैंजूको संयोजकत्वमा संघर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गर्दैआएका छन् । बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने असफल प्रयास गरेको थियो ।

लालुपाते सहकारी संकटमा फसेको विषयमा अनुसन्धान अघि बढाएको प्रहरीले ऋण तिर्नका लागि सूचना जारी गर्दा तोकिएको समयभित्र पाँच जनाले ऋण फिर्ता गरेका छन् । कमल गिरीले १० लाख, निकिता राईले २ लाख, नवराज थापाले १ लाख ५० हजार, राजन शैंजूले १ लाख ३५ हजार र इन्द्र श्रेष्ठले ३१ हजार ऋण फिर्ता गरेको प्रहरीले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।