इटहरीः नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई कारवाही गरेको छ ।

विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्र्ने ती उद्योगलाई कारवाही गरेको हो । कारवाहीमा पर्ने उद्योगमध्ये धेरै सिमेन्ट उद्योग रहेका छन् ।

गोरखाली सिमेन्ट उद्योग प्रालि झापा, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि मोरङ र गोल्डेन ब्याट्री प्रालि मोरङ कारवाहीमा परेका छन् ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा नगरी सामान उत्पादन गर्ने तथा गुणस्तरअनुरुप सामान उत्पादन नगर्ने उद्योगलाई कारवाही गरिएको बताएका छन् । कारवाही गरिएका अधिकांश उद्योगको इजाजतपत्र स्थगन गरिएको तथा उत्पादित वस्तु बिक्रीमा रोक लगाइएको जनाइएको छ ।

कारवाही गरिएका उद्योगलाई गुणस्तरयुक्त सामान उत्पादन गर्न पत्राचार गरिसकेको बताउँदै गुणस्तरयुक्त सामान उत्पादन नगरे लाइसेन्स नै खारेज गर्ने जनाएको छ । विभागले हालसम्म देशभरका ६० वस्तुमा २ सय ५० उद्योगबाट उत्पादित ३ सय ६९ प्रकारका सामग्रीलाई इजाजत दिएको जनाएको छ ।