इटहरीः इटहरी स्थायी घर भएकी एक महिला सिरियामा बेपत्ता भएकी छिन् । इटहरी–१९ भवानीपुरकी ४३ वर्षीया धु्रवदेवी गिरी बेपत्ता भएकी हुन् । दुबइ जाने भनेर हिँडेकी उनलाई दलालले सिरिया पु¥याएर छाडेको हो ।

२०७४ सालको साउनमा उनले इटहरी–२० का धनबहादुर राईलाई पासपोर्ट बुझाइन् । धनबहादुरले उनलाई केही महिनामै भिसा लाग्ने जानकारी दिए । उनले पनि हवस् भनिन् । तर दुबइभन्दा अन्य देश नजाने उनले बताइन् । धनबहादुरले पनि दुबइ नै पठाइदिने वाचा गरे । नभन्दै असोजमा भिसा आयो भन्ने खबर धनबहादुरले ध्रुवदेवीलाई दिए । १५ दिनभित्र काठमाडांै जानुपर्ने उनले जानकारी दिए ।

सोहीबमोजिम उनी काठमाडांै गइन् । दशैंको टीकाको भोलिपल्ट उनी घरबाट हिँडिन् । पहिले १ हजार ८ सय मासिक तलबमा दुबइमै काम गरेर उनी नेपाल फर्किएकी थिइन् । उनी पुन १ हजार २ सय तलबमा जान मञ्जुर भइन् ।

२१ वर्षीया छोरी र १९ वर्षीय छोरालाई छाडेर उनी विदेशिइन् । आम्दानीको अन्य स्रोत नभएका कारण उनी विदेशिन बाध्य भएकी थिइन् । श्रीमान्को मृत्युपछि घरपरिवार चलाउन समस्या भएकै कारण छोरी विदेशिनुपरेको उनकी आमा सरस्वती सन्यासीले बताइन् ।

केही दिनको काठमाडौ बसाइपछि उनी दुबइ पुगिन् । दुबइ पुगेपछि उनले काम पाउने कुनै छाँटकाँट देखिनन् । दुबइकै सम्पर्क कार्यालयको निगरानीमा १५ दिन जति उनी बसिन् । त्यसपछि उनले दलाल धनबहादुरलाई फोन गरेर कि काम देऊ कि नेपाल फिर्ता गराऊ भन्दै रुन थालिन् ।

त्यसको केही दिनमा उनलाई ओमन पु¥याइयो । त्यहाँ पनि उनले काम पाउन सकिनन् । त्यसपछि उनलाई एउटा पेपरमा साइन गराएर नेपाल फर्कन भनियो । उनी विमान चढिन् । नेपाल फर्कने आशमा रहेकी उनी सिरियाको विमानस्थलमा उत्रिइन् ।
एउटा गाडी उनलाई लिन आयो । उनले एउटा घरमा काम गर्नुपर्ने अवस्था सिर्जना भयो । उनी परिवारको सम्पर्कभन्दा टाढा भइन् । १ वर्षपछि अर्थात् गत मंसीर ६ गतेमात्र उनी सम्पर्कमा आइन् ।

उनले आफ्नी आमालाई सम्पर्क गर्दै आफूलाई नेपाल फर्काउन आग्रह गरिन् । आफू बोल्न र खान पनि नपाउने ठाउँमा रहेको उनले जानकारी गराइन् । आफूले लुकेर फोन गर्नुपर्ने अवस्था रहेको र घरमालिकले थाहा पाएमा मुखैमुखमा कुट्ने भनी उनले भ्वाइस म्यासेज गरिन् । एउटै दाजुभाइका ३ वटा घरको सबै काम आफैँले भ्याउनुपर्ने उनले आमालाई जानकारी गराइन् । ‘कुनै काम गर्दिनँ भन्यो भने कपडा खोलेर पालैपालो पिट्छन्’, उनले भनेकी छिन् ।

चरम यातनाका बीच उनले इमोमार्फत् आमासँग सम्पर्क गरिरहेकी छिन् । यता आमा भने कुन उपायले छोरी फिर्ता गराउने भन्ने अन्योलमा छिन् । दलाल धनबहादुर केही दिन अगाडि सम्पर्कमा आए पनि हाल बेपत्ता भएका छन् ।

आमा सरस्वतीले केही दिन अगाडि प्रहरीसमक्ष किटानी जाहेरी दिएकी छिन् । तर अझैसम्म केही खबर नपाएको उनी सुनाउँछिन् । ‘मेरी छोरीलाई अपराधीले कुन ठाउँमा लगेर बेचेछ । मलाई न्याय दिलाई दिनुप¥यो,’ भावुक मुद्रामा उनी भन्छिन्, ‘पहिला नजा भन्दा मानिन । अहिले मर्न लागेँ नि आमा भन्दै रुन्छे । हे ईश्वर मेरी छोरीलाई बचाइदेऊ ।’