कञ्चनपुरः  असार २१ गतेदेखि २४ गतेसम्म चार दिनको अवधिमा कञ्चनपुरमा धेरै वर्षा भयो । जसले गर्दा कञ्चनपुरका ७० प्रतिशत भूभाग जलमग्न हुन पुगे । डुबान र बाढीले चार हजार भन्दा बढी नागरिकहरूले विस्थापित हुनु पर्यो । जनधनको ठुलो क्षति व्यहोर्नु पर्यो । यस वर्ष कञ्चनपुरमा भएको वर्षा नेपालमा वर्षा मापन सुरु भएको ७८ वर्ष यताकै सर्वाधिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार गत आइतबार र सोमबार कञ्चनपुरको दोधाराचाँदनीमा २००३ सालयताकै सर्वाधिक वर्षा भएको पाइएको छ । सोमबार बिहान पौने ९ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा दोधारामा ६ सय २४ मिलिमिटर, हनुमान नगरमा ५ सय ७३ दशमलव ६ मिलिमिटर तथा सुन्दरपुरमा ५ सय ५५ दशमलव ८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

IMG_9762-1536x1024

यस वर्ष जेठ २८ गतेदेखि पूर्वी नेपालबाट सुरु भएको मनसुनको प्रभाव असार १४ गतदेखि असार २४ गतेसम्म सक्रिय भएको थियो । वायुमण्डलीय तथ्याङ्क, भू-उपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको विश्लेषणबाट दुई दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानमा रहेको भए पनि सुदूरपश्चिमको दक्षिण पश्चिमी भाग आसपासको तल्लो वायुमण्डलमा न्यून चापीय प्रणाली विकसित भएको विभागले जनाएको छ ।

DHM_Press_Release_2081.03.25-768x1085

यस्तै, पश्चिमी वायुको न्यून चापीय रेखा सक्रिय रहेको अरब सागर तथा बङ्गालको खाडीबाट आउने जलवायुयुक्त हावा कञ्चनपुरमा मिसिएर भारी वर्षा भएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि २०७४ सालको साउन २९ गते मकवानपुरको हेटौँडा केन्द्रमा सबभन्दा धेरै ५ सय १६ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको थियो । विभागले यस मौसमी घटनाको थप अध्ययन गरी सार्वजनिक गर्ने पनि जनाएको छ ।