विराटनगरः महेन्द्र मोरंङ क्याम्पस विराटनगरका अखिल क्रान्तिकारीका अध्यक्ष अभिमन्यु यादव लागुऔषध मुद्दामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भारत तर्फबाट लागूऔषध ओसारपसार गर्ने नाइके भएको भन्दै उनीमाथि अनुसन्धान शुरु भएको छ ।

रानी भन्सारमा भएको प्रहरी जाँचका क्रममा सशस्त्र सीमा प्रहरी कार्यालयका सुरक्षाकर्मीले मातृका यादव भन्ने व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरेको थियो । यादवलाई विभिन्न नामका ५ सय सिसी लागूऔषधसहित भेटेपछि सशस्त्रले लागूऔषधसहित नेपाल प्रहरीलाई बुझाएको थियो । नेपाल प्रहरीको अनुसन्धानको क्रममा लागूऔषध बोकेका मातृका यादवले आफू भरिया मात्र भएको बयान दिएका थिए ।

‘म त भरिया मात्र हुँ सबै काम महेन्द्र मोरंङ क्याम्पसका अखिल क्रान्तिकारी अध्यक्ष अभिमन्यु यादवले गराएका हुन्,’ मातृका यादवलाई उद्धृत गर्दै नाम नखुलाउने शर्तमा एक प्रहरी अधिकारीले भने, ‘अभिमन्युको नाम लिएपछि उनीमाथि कल डिटेल लगायतका अन्य प्रारम्भिक अनुसन्धान गरिसकेपछि पक्राउ गरेका हौँ ।’

जोगबनी नाकाबाट झोलामा ल्याउँदै गरेको अवस्थामा मातृका यादवबाट ५ सय सिसी लागूपदार्थ भेटिएकाले कारवाहीको लागि नेपाल प्रहरीमा पठाएको सशस्त्र सीमा प्रहरी कार्यालयले जनाएको छ ।

क्याम्पस गार्डलाई कुटेर पनि विवादमा आएका थिए अध्यक्ष यादव
लागूऔषध ओसारपसार मुद्दामा पक्राउ परेका उनी बारम्बार विवादमा तानिने गरेका छन् । गत असारमा पनि क्याम्पसका गार्डलाई कुटेको विषयमा उनी विवादमा तानिएका थिए । गत असार २६ गते बिहीबार बिहान क्याम्पसका सुरक्षागार्ड चेतकुमार राईलाई उनले क्याम्पस प्रमुखकै अगाडि हेल्मेटले हिर्काएर घाइते बनाएका थिए ।

सो घटनालाई ढाकछोप गरेर राख्न खोजिए पनि चारैतिरको दबाब आउन थालेपछि क्याम्पस परिसरमा विद्यार्थी नेताको अगाडि गार्डसँग माफी पनि मागेका थिए ।