देशभरका महिला फुटसल टिमलाई सहभागीताका लागि आह्वान

काठमाडौंः एलिसन स्पोर्ट्स प्रा.ली.को आयोजनामा यही पौष २९ गते सोमबारका दिन काठमाडौँको पेप्सिकोलामा ‘प्रथम महिला फुटसल च्याम्पियनसिप–२०८१’ आयोजना गर्ने भएको छ  । नेपाली महिलाहरूलाई फुटसल खेलमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा नेपालभरका कुनै पनि स्थानमा बसोबास गर्ने महिलाहरूले आफ्नो फुटसल टिम बनाएर सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगितामा कम्तीमा १६ टिमको सहभागिता रहने अपेक्षा गरिएको छ ।  खेलहरू लिग कम नकआउट आधारमा खेलाइनेछ । प्रतियोगिताका सम्पूर्ण खेलहरू गोल नेपाल डटकमबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर बेल सञ्चार रहेको छ ।

75472e32-bed1-456e-95ce-e683ada8a391

प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक टिमले ८ जना खेलाडी, १ जना कोच र १ जना टिम मेनेजरसहित १० जनाको टोली तयार गर्नुपर्नेछ । राष्ट्रिय खेलाडी वा ‘ए’ डिभिजनमा खेलिसकेका खेलाडीमध्ये अधिकतम २ जना खेलाडी मात्र टोलीमा समावेश गर्न सकिने व्यवस्था गरिएको छ । प्रतियोगिताको मुख्य उद्देश्य बढीभन्दा बढी नयाँ महिला खेलाडीलाई खेलमा सहभागी गराउनु हो ।

प्रतियोगितामा विजेता टिमले रु. ५०,००० नगद,  ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले रु. २०,००० नगद,  ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरी, निष्पक्ष खेल प्रदर्शन गर्ने टिमलाई रु. ४,००० नगद, ट्रली, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही रु. २,००० नगद, ट्रली, मेडल र प्रमाणपत्र प्रदान गरिने एलिसन स्पोर्ट्स प्रा.लिका अध्यक्ष सगुन थापा मगरले जानकारी दिए । 

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले रु.४,५०० दर्ता शुल्क तिर्नुपर्नेछ । टिम दर्ताको अन्तिम मिति २०८१ साल पौष २५ गते, बिहीबार, बेलुका ५ बजेसम्म रहेको छ ।