विराटनगरः हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले हिजो ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विराटनगर–७ का ३२ वर्षीय राजेश हेडासहित अन्य २ जना रहेका छन् । हेडासँगै विराटनगर–११ का २५ वर्र्षीय सुमित साह र विराटनगर–१२ का ४१ वर्षीय दीपककुमार कर्ण पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले ६९ लाख ५७ हजार ६ सय रुपैयाँसमेत बरामद गरेको जनाएको छ ।

विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको बताइएको छ । प्रहरीले लामो समयको अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि इटहरीस्थित राजस्व अनुसन्धान विभागमा पठाइने बताइएको छ ।

Maghesankranti Mahotsav