इटहरीः चौथो राष्ट्रिय योग दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको योग दिवसको नारा ‘शान्ति र समृद्धिका लागि योग’ तय गरेको छ ।

यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा ‘योग सबैका लागि सधैँका लागि’ आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए । जसलाई युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १ सय ७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको जनाइएको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन थालिएको हो ।

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरूले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए ।

दिवसका अवसरमा योगसँग सम्बन्धित विभिन्न संस्थाले विविध कार्यक्रम गरी मनाइने मन्त्रालयले जनाएको छ । यस वर्ष ७७ जिल्ला समन्वय समिति र ७ सय ५३ स्थानीय तहलाई पनि विशेष कार्यक्रम गरी योग दिवस मनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् पत्राचार गरेको छ ।

व्यक्तिभित्रको सम्भावना उजागर गर्न सहयोग पु¥याउने साधनाका रूपमा योगलाई आत्मसात गर्न जागरण फैलाउने उद्देश्यले योग दिवस मनाउन थालिएको हो ।

Maghesankranti Mahotsav namje